बीआरआई अघि बढाउने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति

मंसिर १५, २०८१ 2024-11-30 मा प्रकाशित
Published at 2024-11-30

57 views

काठमाडौँ । सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमति भएको छ ।

दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा केन्द्रित भएर ‘बीआरआई सहकार्य फ्रेमवर्क’को मस्यौदा टुङ्गो लगाएको हो । चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन सम्झौता’ मस्यौदामा परिवर्तन गर्दै कार्यदलले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राख्ने सहमति गरेको नेताहरुले बताएका छन् ।

मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने उल्लेख छ । मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सात वर्षअघि हस्ताक्षर गरेको बीआरआई समझदारी पत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने उल्लेख छ । चीनसँग प्रस्ताव गरिने पूर्वाधार, शहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत तय भएको छ ।

नेपालले चीनसँग टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ–हेटौँडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डौ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स परियोजना प्रस्ताव गर्ने तयारी छ ।

यसअघि चीनले बीआरआई कार्यान्यवयन योजनामा सहकार्यका लागि कनेक्टिभिटी, कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक सहकार्य, मानवस्रोत विकास, सांस्कृतिक आदान प्रदान, उद्योग तथा वाणिज्य, भन्सार नाकाहरुको क्षमता अभिवृद्धि, चिनियाँ बैंकहरूको नेपालमा शाखा खोल्ने लगायत विषयमा प्रस्ताव गरेको थियो ।

दुई दलको कार्यदलले मस्यौदा तयार पारेर हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाली पक्षले तयार पारेको मस्यौदामा चीनले सहमति जनाएमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली पर्सि सोमवार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.