विदुर । नुवाकोटको विदुर नगरपालिकाको विभिन्न वडामा बौलाहा कुकुरको आतंक मच्चिएको छ । सामुदायिक अर्थात छाडा छोडिएको एउटा कुकुरले बौलाहा शैलीमा विदुर नगरपालिकाको विभिन्न वडाको बस्तीहरुमा आतंक मच्चाएको हो ।
कुकुरको टोकाईबाट ८–१० जना घाइते भएका छन् । विदुर नगरपालिकाको वडा नं २ र ४ को बट्टार बजार क्षेत्र, वडा नं. ५ को गगटे, वडा नं. ५ को इनारपाटीमा त्रास फैलिएको छ । कालो रङ्गको एक कुकुरले भेट्टाएका मानिसलाई टोक्न थालेपछि घरबाट बाहिर आउजाउ गर्न समस्या भएको नुवाकोट उद्योग बाणिज्य संघका सचिव मधुसुदन थपलियाले गुनासो गर्नुभयो ।
उहाँको अनुसार बालबालिकालाई विद्यालय पठाउन सक्ने अबस्था भएन भने सवारी साधनमा चढ्नेलाई समेत झम्टने गरेको छ ।
विदुर–४ बट्टार निवासी युवा व्यावसायी तथा समाजसेवी उसनमान श्रेष्ठको अनुसार बट्टार बजारमा कुकुरको टोकाईबाट चार जना घाइते भएका छन् । उक्त कुकुरको ब्यबहार रिसाहा स्वभावको छ भने बौलाहा शैलीमा जसलाई भेट्टायो टोक्दै हिड्ने र एक छिनमा एक ठाँउबाट अर्को ठाँउमा पुगेर आतंक मच्चाउने गरेको पाइएको छ ।
प्राप्त विवरण अनुसार पछिल्लो दुई दिनमा नै १० जनालाई टोकेर घाइते बनाइसकेको बट्टारमा नुवाकोट डेरी उद्योग सञ्चालन गर्दै आउनुभएका बासुदेव नेपालले जानकारी दिनुभयो । स्थानीय क्षेत्रमा कुकुरले फैलाएको समस्यालाई सम्बन्धित वडा, पालिका एंव पशु सेवा कार्यालयले तत्कालै नियन्त्रणमा लिनको लागी पहल गर्नुपर्ने उहाँको सुझाब छ ।
समयमै नियन्त्रण नगरेमा थप जोखिम निम्ताउन सक्ने, समुदायमा रेबिज रोगको सक्रमण फैलान सक्ने भएकाले कुकुरलाई नियन्त्रण र घाइते बनाएकालाई सम्बन्धित निकायबाट सहयोग हुनुपर्ने स्थानीयले माग गरेका छन् ।