रुपबहादुर तामाङको संयोजकत्वमा तरकारी जोन सञ्चालन समन्वय समिति गठन

मंसिर ५, २०८१ 2024-11-20 मा प्रकाशित
Published at 2024-11-20

203 views

विदुर । म्यागङ र किस्पाङमा यो आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको तरकारी जोन कार्यक्रमको लागी उक्त स्थानका किसानहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा बुङताङका किसान रुपबहादुर तामाङ चयन हुनुभएको छ ।

मंसिर ३ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नुवाकोटको कार्यालयमा भएको किसान, कृषि सँस्था तथा सहकारीका प्रतिनिधिहरुको भेलाले रुपबहादुर तामाङलाई सर्वसम्मत संयोजक चयन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नुवाकोटका कृषि प्राविधिक भुवन तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँको अनुसार सदस्यहरुमा विक्रमबहादुर तामाङ, सरस्वती लामा, शेरबहादुर लामा, विरेन्द्र तामाङ, चित्रमाया तामाङ, शाहिल प्रियास, कल्पना शाक्य र भद्रसिंह तामाङ सहित नौ सदस्य तरकारी जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ ।

म्यागङको पाँच वटा वडा र किस्पाङको चार वटा वडामा कार्यान्वयन हुने गरेर चालु आर्थिक वर्षदेखि तरकारीको जोन कार्यक्रम सञ्चालनमा आएको छ ।

परियोजना कार्यान्वयन एकाइ, नुवाकोटको अनुसार तरकारी खेतीका लागि जिल्लाकै उत्कृष्ट क्षेत्रको रुपमा रहेको म्यागङको वडा नं. २ देखि ६ सम्म र किस्पाङको वडा नं. १ देखि ४ सम्मको कुल नौवटा वडामा कार्यक्रम कार्यान्वयनमा आएको कृषि प्राविधिक भुवन तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार तरकारी जोन सञ्चालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत एक करोड २५ लाख रूपैयाँ बजेट प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.