रेमिट्यान्समा नयाँ रेकर्ड, एक महिनामै भित्रियो साढे १ खर्ब

मंसिर ५, २०८१ 2024-11-20 मा प्रकाशित
Published at 2024-11-20

69 views

काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्सले गत असोजमा नयाँ रेकर्ड बनाएको छ । असोजमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजमा एकै महिना १ खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा नेपाल आएको रेमिट्यान्सको तथ्यांकमा यो हालसम्मकै उच्च हो ।

यसअघि ०८० असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरको भाउ वृद्धि, वैदेशिक रोजगारका लागि बिदेसिने नेपालीको संख्या वृद्धि र विश्व अर्थतन्त्र सुधारोन्मुख रहेकाले नेपालीको आम्दानी बढेका कारण रेमिट्यान्समा बढोत्तरी देखिएको जानकार बताउँछन् ।

राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोजसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो । राष्ट्र बैंकका अनुसार पछिल्लो १७ महिना यता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।

सोही क्रममा गत असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको हो । रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने शोधनान्तर बचत र चालु खाता बचत पनि थुपि्रँदै गएको छ । विदेशी मुद्राका अन्य स्रोतहरू निर्यात, पर्यटन, विदेशी लगानी, वैदेशिक सहायतालगायत सूचकको अवस्था निराशाजनक छ । तर रेमिट्यान्स मात्र लगातार बढिरहेकाले चालु खाता, शोधनान्तर बचतलगायत सूचकलगायत सूचक पनि लगातार बचतमा रहेको जानकार बताउँछन् ।

यसरी रेमिट्यान्समा आएको वृद्धिले अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर बढिरहेको राष्ट्र बैंकका अधिकारी स्वीकार गर्छन् । बढ्दो विनिमय सञ्चितिले सरकार र निजी क्षेत्रलाई लगानी बढाउन राम्रो अवसर दिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘विदेशी विनियम सञ्चितिसँगै अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर सबल बन्दै गएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । स्वदेशमा ब्याजदर पनि न्यून छ,’ उनले भने, ‘यो सरकारी र निज क्षेत्रलाई लगानी विस्तारको अझ राम्रो अवसर हो ।’

अर्थतन्त्रका सूचकहरूले अहिले लगानी विस्तारका लागि राम्रो अवसर दिएकाले त्यसको भरपुर उपयोग गर्नुपर्ने उनको भनाइ छ । अहिले लगानी विस्तार हुन सके शिथिल देखिएका उद्योग र निर्माण क्षेत्रमा पनि सुधार आउन सक्छ भने सम्भावना भएका यातायात, थोक तथा खुद्रा व्यापार क्षेत्र पनि थप चयालमान बन्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.