कृषि खेतीमा रमाउदै गरेका युवालाई फूलखेतीमा पनि सफलता 

कार्तिक १४, २०८१ 2024-10-30 मा प्रकाशित
Published at 2024-10-30

420 views

भञ्याङखर्क । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ४ भन्ज्याङखर्क निवासी रमेश अधिकारीले यो वर्षदेखि सुरु गरेको सयपत्री फूलको उत्पादन राम्रो भएको छ । युवा उद्यमी अधिकारीको ‘बुढीआमा अर्गानिक एग्रो टुरिजम एण्ड रिसर्च प्रा.ली’ कृषि फर्ममा उत्पादन भएका फूलको थुङ्गा ठूलो छ भने गुणस्तरीय समेत भएकाले बजारमा उपभोक्ताको रोजाईमा परेको छ ।
यो वर्ष तिहार पर्वको अवसरमा बजारभाउ समेत सन्तोषजनक रहेकाले उत्पादन अनुसार आम्दानी पनि राम्रो लिन सकिने उहाँको विश्वास छ ।

कृषि विकास कार्यालय नुवाकोटको आर्थिक वर्ष २०८०–०८१को सयपत्री फूल खेती प्रवद्र्धन कार्यक्रमको सहयोगमा उहाँले लगाएको सयमपत्री फुल अहिले लटरम्म फुलेका छन् । तिहार पर्वको अवसरमा विक्रीको लागी फुल टिप्न व्यस्त हुनुभएका युवा उद्यमी रमेश अधिकारी उत्पादन राम्रो भएकाले लगानी अनुसार आम्दानी पनि राम्रै हुने आशामा देखिनुहुन्छ ।

गाई पालन, कागती खेती सहित कृषि र पशुपालन मार्फत आर्थिक उपार्जन गरेर स्वेदेशमा नै केही गर्न सकिने लक्ष्य र उद्देष्य लिनुभएका उहाँले फूलखेतीको पहिलो प्रयासमा नै राम्रो सफलता प्राप्त गर्नुभएको हो । ‘बुढीआमा अर्गानिक एग्रो टुरिजम एण्ड रिसर्च प्रा.ली’को २५ रोपनी जग्गामा लगाएको सयपत्री फूलको मुख्य बजार काठमाडौ हो ।

तिहार पर्व नजिकिएसगैँ अहिले दैनिक ५–७ जना जनशक्ती परिचालन गरेर फुल टिप्ने, गुच्छा र माला बनाउने र अनि काठमाडौ पठाउन उहाँ व्यस्त हुनुहुन्छ । कार्तिक १३ गतेदेखि काठमाडौ निर्यात सुरु गर्नुभएका उहाँले टिकाको अघिल्लो दिनसम्म लैजाने तालिका बनाएर फूल टिप्न, माला र गच्छा बनाउन व्यस्त हुनुहुन्छ । जिल्लाबासीलाई प्रचलित दरमा पनि थप सहुलियतमा उपलब्ध गराउने भएकाले नुवाकोट र आसपासबाट माग भएमा सहजै उपलब्ध गराउने उहाँको भनाई छ ।

अहिले फूलको बजारीकरणको काम भइरहेकाले फूल विक्री भएर नगद लिन बाँकी छ । आम्दानी के कती हुन्छ एकिन भन्न सकिन्न । तर, लगानीको दोब्बर नाफा भने सहजै लिन सकिने उहाँको विश्वास छ ।

‘बुढीआमा अर्गानिक एग्रो टुरिजम एण्ड रिसर्च प्रा.ली’ फर्म मार्फत एग्रो पर्यटन प्रबद्र्धन सहित युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गर्नको लागी मिहेनत र सोही अनुसार सफलता हासिल गर्दै आउनुभएका युवा व्यावसायी रमेश अधिकारी पहिलो प्रयासमा नै राम्रो उत्पादन र सोही अनुसारको सफलता पाएसगैँ आगामी दिनमा यसलाई अझै विस्तार गर्ने योजना बनाउनुभएको छ । उहाँले गरेको फूलखेतीको उत्पादन राम्रो भएसर्गैँ तारकेश्वर गाँउपालिका–४ भञ्याङखर्क आसपासका अन्य किसानले पनि आगामी दिनमा फूल खेती गर्ने सोच बनाएका छन् ।

‘बुढीआमा अर्गानिक एग्रो टुरिजम एण्ड रिसर्च प्रा.ली’ फर्म मार्फत स्थानीय क्षेत्रमा हुनेसक्ने सम्भावित कृषि र पशुपालनको लागी अध्ययन तथा अनुसन्धान एंव परीक्षणमा रहनुभएका युवा उद्यमी रमेश अधिकारीले पालन गर्दै आएको गाई, लगाउदै आएको कागती खेती पनि कृषि र पशुपालन गर्ने किसानलाई नयाँ ज्ञान प्रवाह गर्न सक्ने देखिन्छ । फर्ममा रमेश उहाँको बुबा गोकर्णप्रसाद अधिकारी एंव परिवारका सदस्यहरुले समय दिदै आउनुभएको छ भने थप अन्य पाचजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउदै आउनुभएको छ ।

माध्यमिक तह एंव विश्वविद्यालयको अध्ययन पश्चात उच्च शिक्षा अध्ययन र रोजगारको लागी विदेश जानेहरुको भीडमा रमेशले आफूलाई फरक युवाको रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ "विदेश जाने लगानी यही गर्ने हो भने हरेक वर्ष त्यो लगानी बृद्धि हुदै जाने छ भने देशको लागी कृषि र पशुपालन मार्फत हुने उत्पादनले आर्थिक रुपमा बलियो बनाई स्वदेशमा नै मनग्य आम्दानी सहित रमाउन सकिन्छ ।"

कृषि तथा पशुपालनको लागी सरकारी सहयोग, अनुदान तथा नीति केही समस्या भएपनि इमान्दार र आफ्ना कर्म प्रति विश्वास गर्नेलाई भने कुनै अफ्ठ्यारो नभएको उहाँको अनुभव छ । जिल्ला स्थित कृषि विकास कार्यालय, पशु विकास कार्यालयबाट प्राविधिक, विभिन्न कार्यक्रमको सहयोग मार्फत आफूलाई थप ज्ञान बृद्धि र पेशा प्रति मनोबल उच्च भएकाले आगामी दिनमा फर्ममा कृषि र पशुपालनको क्षेत्रमा अझै थप विस्तार गर्दै लैजाने उहाँको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.