काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हरायो ।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । त्यसअघि भारतको लागि सङ्गीता बस्फोरेले गोल गरेर अग्रता लिएको थियो ।
खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म विवादले रोकिएको थियो । नेपालले गरेको गोललाई मान्यता नदिने निर्णय गर्दै खेल सुचारु गरिएको थियो । रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि गोल नदिने निर्णय भएको हो ।
खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो ।
फाइनल पुगेको नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।
आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलले हराउँदै साविक विजेता बङ्गलादेश फाइनलमा पुगेको हो ।