नुवाकोट ।संविधान दिवस–२०८१ को अवसरमा तादी गाँउपालिका–३ खरानीटारमा प्रभातफेरी सहित प्रवचन कार्यक्रम गरिएको छ ।

तादी र पञ्चकन्या गाँउपालिकाको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाली काँग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशरण महत, माओवादी केन्द्रका नेता तथा संबिधानसभा सदस्य राममाया बोगटी, बागमती प्रदेससभा सदस्य तथा नेपाली काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत, बागमती प्रदेससभा सदस्य रामप्रसाद ढुङ्गाना, नेकपा एमालेका अध्यक्ष बद्री मैनाली, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहित जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न गाँउपालिकाको अध्यक्ष, उपाध्यक्षहरु, सरकारी कार्यालय एंव सुरक्षा निकायका प्रतिनिधि लगायत देशको परिवर्तनको लागी योगदान पुराउनुभएका महानुभावहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदै नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले नेपालको संबिधान दक्षिण एसियामा नै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।

संबिधान जारी गर्दाको बखतमा संबिधानसभा सदस्य समेत रहनुभएका काँग्रेस प्रवक्ता महतले दुई कार्यकालको संबिधानसभाले निकै सचेतपूर्वक सबै पक्षलाई न्याय हुने गरेर बनाएको अहिलेको संबिधान अग्रगामी सहित उत्कृष्ट रहेको बताउनुभएको हो ।
राज्य सञ्चालनको हरेक तहमा महिला सहित लक्षित वर्गको सहभागिता सुनिश्चित हुने व्यवस्था संबिधानमा उल्लेख गरिएको उहाँको भनाई रहेको छ ।
अहिलेको संबिधान अग्रगामी बनेको उल्लेख गर्दै युरोपका केही राम्रा देशको जस्तै पछि परेका वर्ग, समूह, क्षेत्र, जाती सबैको समुचित र समावेश प्रतिनिधित्वको सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । अहिलेको संबिधान नेपाली जनताको लागी नेपाली जनताबाटै बनाएकाले यसको पूर्ण कार्यान्वयनमा सबैको साथ हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता एंव पूर्वमन्त्री डा.प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकारले संबिधान संशोधनको विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने बताउनुभएको छ । संबिधान संशोधनमा जनताको सुझाब लिने, संसद्मा आमसहमति गर्ने र सबै राजनीतिक दलहरुसंगको छलफलबाट अन्तिम निष्कर्षमा पुग्ने भएकाले संबिधान संशोधनलाई विवाद भन्दा पनि समस्या समाधानको रुपमा लिनको लागी उहाँले अह्वान गर्नुभएको छ ।
संबिधान संशोधनले दिगो सरकारको स्थापना, विकास निर्माणको गतिविधि चलायमान बनाउन र स्थायी सरकार निर्माणको लागी निर्वाचन प्रणालीलाई विश्वसनीय बनाउन सत्तरुढ गठबन्धनले संबिधान संशोधन गर्न लागेको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले दाबी गर्नुभएको छ ।
संबिधान दिवस मनाउनको लागी आयोजना कार्यक्रम आयोजना गर्ने मध्ये तादी गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले शक्तिको विकेन्द्रकरण भनेपनि अझै त्यसको सही कार्यान्वयन नभएको भन्दै स्थानीय सरकारलाई अब्बल बनाउने कानूनको अभाव भएको गुनासो गर्नुभएको छ । जिल्लास्तरीय कार्यक्रम तादीमा आयोजना गर्नुको उद्देष्यनै शक्तिको विकेन्द्रिकरणको लागी अझैपनि प्रहरी, प्रशासन, अदालत, मालपोत, स्वास्थ्य लगायतका सुविधाको लागी जिल्ला सदरमुकाममा नै धाउनुपर्ने बाध्यता भएकाले त्यसलाई स्थानीय तहको मुकाममा नै विस्तार गर्नुपर्नै माग तादी गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले गर्नुभएको छ ।



20.12¡ÆC