नुवाकोट र रसुवाको कृषि क्षेत्रको विकासको लागी दश करोड २० लाख रुपैयाँ प्राप्त

अशोज २, २०८१ मा प्रकाशित | 323 views


त्रिशूली । नुवाकोट र रसुवाको कृषि क्षेत्रको लागी चालु आर्थिक वर्षमा रु दश करोड २० लाखको योजना तथा कार्यक्रम प्राप्त भएको छ ।
दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटलाई चालु आवमा केही नयाँ कार्यक्रम सहित कृषि विकासको लागी सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवम् बजेटको अख्तियारी प्राप्त भएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिनुभयो ।

उहाँको अनुसार सिचाईँ, साना यन्त्र उपकरणमा सहायता, मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीलता प्रबद्र्धन, संरक्षित संरचनामा तरकारी खेती, एकवडा–एक कृषि उत्पादन सहित रैथाने बाली र तरकारीको संरक्षणका कार्यक्रम प्राथमिकतामा राखिएका छन् ।

“युवाहरुलाई स्वरोजगार बनाउन नयाँ कार्यक्रम कृषि उद्यमशीलता विकास कार्यक्रमको लागी रु ३६ लाख बजेट बिनियोजन गरिएको छ भने बाझो रहेका खेतमा बाली लगाउनलाई सहज बनाउन सिचाईँ कार्यक्रम माग गर्नेलाई रु नौ लाख लगायतका आकर्षण कार्यक्रम राखिएका छन् ।” बरिष्ठ कृषि विकास अधिकृत खनालले भन्नुभयो “प्राङ्गारिक मल वितरण, गोठमल र भकारो सुधार कार्यक्रम, हराएका रैथाने अन्नबाली र तरकारी खेतीको प्रबद्र्धनको लागी किसानलाई सहयोग उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ ।”

रैथाने बाली र तरकारीको संरक्षण सहित सम्भाव्यता भएका नयाँ उब्जनीको अध्ययन तथा परीक्षण समेत गर्ने कार्यक्रम चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएको छ । नुवाकोटमा धान, चामल, आलु, तरकारी, ट्राउट माछा, स्ट्रबेरी र रसुवामा आलु, स्याऊ, दाल, सिमीको व्यावसायिक खेती मार्फत उत्पादन बृद्धि र बजारिकरणमा कार्यालयले सहयोग पु-याउदै आइरहेको छ ।

चालु आवका लागी प्राप्त योजना तथा कार्यक्रमले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै गरिबी न्यूनिकरण तथा खाद्य पोषण सुधारमा उल्लेख्य सहयोग पुग्ने लक्ष्य लिइएको छ । त्यसको लागी सहकारी र निजी क्षेत्रको समेत सहभागितामा कृषिजन्य वस्तुको उद्योग तथा व्यवसायको विकास गर्ने उल्लेख गरिएको छ ।
-रामहरि न्यौपाने,
राष्ट्रिय समाचार समिति (रासस) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web