आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै

भदौ २९, २०८१ मा प्रकाशित | 259 views


काठमाडौँ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो । तर बालबालिकाको क्षेत्रमा सोचेअनुसार लगानी हुन नसकेको बालअधिकारकर्मीहरुले बताएका छन् ।

तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा अधिकारकर्मीहरुको जोड छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर धेरै बालबालिका यस्ता हक र अधिकारबाट बञ्चित छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताउनुभएको छ । उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभएको छ । गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web