
काठमाडौँ । देशभर डेंगु संक्रमितको संख्या सात हजारभन्दा बढी नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो एक हप्तामा डेंगु संक्रमितको संख्या ७ हजार ६४० जना नाघेको हो ।
यसैगरी गत जनवरीदेखि हालसम्म नेपालमा डेंगु सङ्क्रमणबाट पाँचजनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कुल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।
यसैगरी बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेशमा १२८ जना सङ्क्रमित रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यसैगरी सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
हाल काठमाडौँमा डेंगु संक्रमित ६२० जना पुगेका छन् । यस्तै अहिले सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्। तनहुँमा हाल १ हजार २३६ जना पुगेका छन् ।
डेंगु संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। ईडीसीडीको विवरणअनुसार हाल हैजाका संक्रमित ८० जना पुगेका छन् । अघिल्लो हप्ता हैजा संक्रमित ७५ जना थिए ।
हाल ललितपुरमा ५२ जना, काठमाडौंमा १२, कैलालीमा ८, प्यूठानमा २, मकवानपुरमा १, रोल्पामा ४, सिन्धुपाल्चोकमा एकजना हैजा संक्रमित रहेका छन् ।
23.14¡ÆC