काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस बिहीबार मनाइँदै छ ।
दिवसको नारा ‘तीनै तहका सरकारको प्रतिवद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ तय गरिएको छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो ।
त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखन विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्याताकै कलंक र जघन्य अपराध भएको बताएका छन् । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै यसविरुद्ध बनेका कानुनहरुको कडाइका साथ कार्यान्वयन गरिरहेको पनि उनले दाबी गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले मानव बेचबिखनमा परेका पीडित तथा प्रभावितको सशक्तीकरणका लागि अन्तरक्रिया, रोजगार तथा स्वरोजगारमूलक सीप विकास तालिम सञ्चालन गरिरहेको बताएका छन् ।