गोसाईंकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

भदौ २, २०८१ मा प्रकाशित | 242 views


रसुवा । रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा गएको शुक्रवार ग्रिडको बिजुली पुर्‍याएको हो ।

बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ । गोसाईंकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही ठाउँका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट बिजुली प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राधिकरणमा जागिर शुरू गर्नासाथ मैले प्यूठानको धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्वारीमा बिजुली पुर्‍याएको थिएँ, अहिले देशलाई पूर्णरूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईंकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको बिजुली पुर्‍याइरहेका छौँ ।’

रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिडको बिजुली पुगेको थियो । चन्दनबारीबाट झन्डै आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्‍याएको हो । गोसाईंकुण्डमा बिजुली आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ ।

गोसाईंकुण्डमा बिजुली पुर्‍याउन गएको वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । यसको अनुमानित लागत झन्डै तीन करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web