बैंकको ऋण नतिर्ने खराब व्यक्ति र अपराधी राज्यमन्त्री

साउन १९, २०८१ मा प्रकाशित | 377 views


त्रिशूली । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री थपेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कांग्रेसबाट रूपा विक र पूर्णबहादुर (कान्छाराम) तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनुभएको हो । उनीहरूमध्ये कान्छाराम तामाङ बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यक्ति रहेका हुन् भने अरुण चौधरी ट्र्याक्टर आगजनी घटनामा जेल परेर छुटेका व्यक्ति रहेको पाइएको छ ।

काँङ्ग्रेसका कान्छाराम तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र अरुण चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा यसअघि असार ३१ मै जलविद्युत् कम्पनीका लगानीकर्ता कांग्रेस सांसद दीपक खड्का ऊर्जामन्त्री बनाउदा पनि बिरोध भएको थियो ।

स्वार्थ जोडिएको मन्त्रालय खड्कालाई दिएको भनेर आलोचना भइरहेकै बेला त्यही मन्त्रालयमा कालोसूचीमा परेको कान्छाराम निर्माण कम्पनीका सञ्चालक कान्छाराम तामाङलाई राज्यमन्त्री बनाइएको हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को (३) मा बैंक वा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायले कालोसूचीमा राखेको व्यक्ति, फर्म, संस्था वा कम्पनीले त्यस्तो सूचीमा कायम रहेको अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नसक्ने उल्लेख गरेपनि त्यसको उल्लघंन गरिएको हो ।

कान्छाराम तामाङ र उनको कम्पनी कर्जा सूचना केन्द्रको पटक पटक कालोसूचीमा रहेको छ । कर्जा सूचना केन्द्रले पछिल्लो पटक गत असार २४ मा पनि तामाङलाई राखेको कालोसूची अझै कायम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web