दुई हजार ६० जनामा डेंगु सङ्क्रमण

साउन १९, २०८१ मा प्रकाशित | 267 views


त्रिशूली । नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ ।

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरू सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन भई क्रियाशील अवस्थामा रहेको छ । साथै स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन भइरहेको रणनीतिमा उल्लेख गरेको छ ।

स्थानीयतह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि स्थानीय तहमा सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि करिब दुई करोड बजेट विनियोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web