एमसीसी अन्तर्गत ४ सय केभी क्षमताका ३ वटै सबस्टेशनको ठेक्का लाग्यो

साउन १६, २०८१ 2024-07-31 मा प्रकाशित
Published at 2024-07-31

112 views

काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत दमौलीमा बन्ने चार सय केभी क्षमताको सबस्टेशनको ठेक्का सम्झौता भएको छ । एमसीए–नेपालले तनहुँको दमौलीमा चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग तीन करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको जनाएको छ ।

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि नुवाकोटको रातमाटे सबस्टेशनमा जस्तै एक हजार मेगा भोल्ट एम्पिएर एमभीए क्षमताको नेपालकै ठूलो सबस्टेशनमध्ये एउटा बन्नेछ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

आज काठमाण्डौमा भएको ठेक्का सम्झौता कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले यी तीन वटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै अमेरिकी राजदूत डिन थम्प्सनले समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न यो आयोजना महत्त्वपूर्ण हुने बताउनुभयो । यस्तै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेशन सँगै काठमाण्डाैकाे लप्सीफेदीबाट नवलपरासीको नेपाल–भारत सीमासम्म तीन सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको छ । बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै वर्ष ठेक्का आह्वानको तयारी छ । एमसीसी अन्तर्गत नै पूर्व–पश्चिम राजमार्गकको दाङको धानखोलाबाट बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नति पनि हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.