निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानले फिर्ता लिए नाम

साउन १४, २०८१ मा प्रकाशित | 154 views


काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइ समिति सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार नाम फिर्ता लिएको निवेदन सोमबार प्रधानले सचिवालयमा दर्ता गराएका छन् ।

“उहाँले निवेदन दर्ता गराउनुभएको छ । समितिमा निवेदन दर्ता भइसक्यो,” ती सदस्यले भने ।

उनलाई आयुक्त सिफारिस गर्ने नगर्ने निर्णय गर्न सोमबार बिहान ११ः३० का लागि समिति बैठक बोलाइएको थियो । तर, बैठक नबसी साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । उनी आफैँले नाम फिर्ता लिउन् भनेरै समिति बैठक सारिएको ती सदस्यले जानकारी दिए ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक–पटक यौनशोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो । ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

सुनुवाइको क्रममा सांसदहरूले प्रधानलाई उच्च नैतिकता प्रस्तुत गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web