त्रिशूली । राष्ट्रिय गौरबको आयोजना तथा राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडकको निर्माणको क्रममा विभिन्न चुनौतीको सामना अन्तरगत गल्छीदेखि वेत्रावतीसम्ममा तीन वटा पहिरोलाई लिइएको छ ।
कोल्पुटार स्थित धादिङतर्फको पहिरो, जिलिङ पहिरो र तिरतिरे भीरको पहिरोलाई ‘गल्छी–रसुवागढी’ सडक निर्माणमा मुख्य चुनौती देखिएको हो ।
त्यसअन्तरगत तिरतिरे भीरको पहिरो निर्माण व्यावसायीको लापबारहीले ठेक्का नै तोडिएको छ भने एउटै निर्माण व्यावसायीले जिम्मा लिएको जिलिङ पहिरो र कोल्पुटारको पहिरो नियन्त्रणको काम पनि प्रभावकारी नहुदाँ यात्रुहरुले निकै सास्ती ब्यहोदै आइरहेका छन् । पहिरो नियन्त्रणको जिम्मवारी लिएको कन्टेक प्रालीले कोल्पुटारको पहिरोलाई समयमै नियन्त्रण गरेपनि विभिन्न बाहनाबाजी बनाएर जिलिङको पहिरोको काममा लापरबाही गर्दै आइरहेको छ ।
यो हो पहिरो निर्माणको जिम्मेवारी पाएर काम नगर्ने कन्टेक प्राली ।।
बेलकोटगढी नगरपालिका वडा नं. ८ जिलिङको पहिरो नियन्त्रण काम पटक पटक म्याद थप गर्दा समेत अझै आधा काम समेत नहुदाँ यात्रुहरुलाई देवीघाट–गल्छीको सडकमा आउजाउ गर्न निकै सास्ती भइरहेको छ । उक्त पहिरोका कारण बर्षातको समयमा विपत पर्न सक्छ भनेर जिल्ला स्तरीय विपत व्यावस्थापन समिति नुवाकोटले ‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयलाई सडक सुचारु गराइराख्न तोकेता दिदै आएको छ ।
समितिको ताकेता अनुुसार सडकलाई सुचारु गराउने प्रयास जारी भएपनि सडकलाई व्यवस्थित बनाउन अझै थप ६–७ महिना लाग्ने देखिएको योजना प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
समितिले एकसाता भित्रै पहिरो स्थित सडक सुचारु राख्न भनेपनि निर्माण व्यावसायीले समयमै काम नगर्दा अहिलेको लागी सवारी आउजाउ सुचारु राख्ने र सडक कालोपत्रे सहितको दुई लेन बनाउन निर्माण व्यावसायीको लापरबाहीले समय लाग्ने देखिएको ‘गल्छी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले बताउनुभएको छ ।