
रसुवा । पहिरोले पासाङ ल्हामु राजमार्गको रसुवा खण्डमा ठूला गाडी रोकिएका छन् । राजमार्गको माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्तीमा ठूला गाडी बन्द भएका हुन् ।
गएको वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला गाडी रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आजदेखि अर्काे व्यवस्था नभएसम्म हल्का गाडीबाहेक अन्य ठूला गाडी लैजान रोक लगाइएको छ । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
सडकमा पानी जम्न नदिई अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपबाट निकास दिने, नालीलाई निरन्तर सफा गराउने, वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि नै अनुरोध गरे पनि जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङ ल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार काठमाण्डाैका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर रसुवागढीमै रोकिएका छन् । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इन्जिनियर सुबाेध देवकोटाले एक/दुई दिनमै सबै खाले गाडी चल्ने गरी वैकल्पिक मार्गका रूपमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन मर्मत शुरू गरिएको बताउनुभयो ।
27.18¡ÆC