
त्रिशूली । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने निश्चित भएपनि मन्त्रालय भागबण्डा मिलाउन समस्या देखिएको छ ।
मुख्यमन्त्रीमा दाबी पेस नगर्दै सत्ता साझेदार दुवै दल कांग्रेस–एमालेबिच मन्त्रालय भागबण्डामा समस्या देखिएको हो । बागमती प्रदेशमा रहेका १३ वटा मन्त्रालय रहेका छन् । तीमध्ये कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्नेबारे विवाद मिलाउन हिजो सोमबार दिनभरको प्रयास निष्कर्ष बिहीन भएको छ ।
मन्त्रालय भागबण्डाका विषयमा सहमति जुटाउन एमाले र कांग्रेसका संसदीय दलका नेता हिजो दिनभर व्यस्त देखिएपनि साँझमा पत्रकारलाई प्रतिक्रिया दिने क्रममा प्रयास जारी रहेकाले आज मंगलबार मात्रै अन्तिम सहमति हुने बताएका छन् ।
नेकपा एमालेले मुख्यमन्त्री सहित कांग्रेसलाई ६ र आफूलाई ७ मन्त्रालय भाग लगाउने प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई कांग्रेस अस्वीकार गर्दै आइरहेको छ ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदको ठुलो दल भएकाले आफूहरुले मुख्यमन्त्रीसहित ७ र एमालेले ५ मन्त्रालय पाउने प्रस्ताव गर्नुभएको छ । त्यस प्रस्तावलाई नेकपा एमालेले पनि मान्य नहुने बताउदै आएको छ ।
17.16¡ÆC