गएको आर्थिक वर्षमा झन्डै १६ खर्बको आयात हुँदा डेढ खर्ब रुपैयाँको मात्रै निर्यात

साउन ७, २०८१ 2024-07-22 मा प्रकाशित
Published at 2024-07-22

106 views

काठमाडौँ । गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै कमी भएको छ । भन्सार विभागले आज प्रकाशन गरेको गएको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै व्यापारमा कमी आएको हो ।

गएको आर्थिक वर्षमा नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ३३ प्रतिशतले कमी हो । गएको वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु विदेशबाट आयात गरेको छ भने जम्मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु विदेशमा निर्यात गरेको छ । आयातमा एक दशमलव १६ प्रतिशत र निर्यातमा तीन दशमलव शून्य तीन प्रतिशतले कमी आएको छ ।

समग्र व्यापारमा नै कमी आएपछि व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा झन्डै एक प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट भारतमा जम्मा एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँको आयात हुँदा जम्मा दुई अर्ब ५८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.