
हेटौँडा । अल्पमतमा परेपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वास मत लिन लाग्नुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरुले बोल्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो । उहाँको अनुसार प्रमुख विपक्षी दलका नेताका लागि समय सीमामा निर्धारण गरिएको छैन भने अन्य दलका नेतालाई १०–१० मिनेट बोल्न दिने तय गरिएको छ।
सरकारलाई समर्थन गरेको नेकपा एमालेका मन्त्रीको सामूहिक राजीनामासँगै गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन्। मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य रहेका छन्। सरकार निर्माणका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ।
20.28¡ÆC