बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै

साउन ४, २०८१ 2024-07-19 मा प्रकाशित
Published at 2024-07-19

94 views

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् ।

देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच, प्रदर्शनका क्रममा बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा हिजो दिउँसो आगलागी हुँदा धेरै मानिस त्यहाँ फसेका छन् । आगो निभाउन समयमा दमकल पनि नआएको र सुरक्षाकर्मीले पनि आवश्यक सहयोग नगरेको बिटिभीका अध्यक्षले बताएका खबरमा उल्लेख छ ।

गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन शुरु भएको हो ।

विरोध बढ्दै गएपछि सरकारले यसअघि बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.