काठमाडौं,साउन २ । माओवादीले समर्थन फिर्ता लिएर कांग्रेसको नेतृत्वमा आफै प्रधानमन्त्री बन्ने तयारी गरेपछि आफ्नो सरकार टिकाउन अनेक उपाय गरिरहेका प्रधानमन्त्री ओलीले अन्ततः माओवादी अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । अघिल्लो सातामात्रै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेललाई एमालेको समर्थनमा प्रधानमन्त्री बन्न तर माओबादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नबनाउन प्रस्ताव गरेका थिए । ती दुवै प्रस्ताव असफल भएपछि अहिले ओलीले प्रचण्डलाई नै आफ्नो समर्थनमा प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

तर, ओलीको उक्त प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेका छन् । आइतबारको अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारअनुसार ओलीले ९ महिनाका लागि एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र वर्तमान गठबन्धन जोगाउने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले धेरै ढिला भइसकेको भन्दै त्यसलाई अस्वीकार गरे ।

शान्ति प्रक्रियाका बाँकी काम दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ताबाहिर रहने अवस्था आउन नदिन ओलीले दाहाललाई त्यस्तो प्रस्ताव पठाएको स्रोतले बतायो । ‘कांग्रेसले जस्तै हामी पनि तपाईंसँग लिखित सहमति गरेर सहमति गर्न तयार छौं भनेर एमालेबाट प्रस्ताव आएको थियो, त्यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ,’ दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने ।

वामपन्थी गठबन्धन दिगो बनाउन आफूले गरेको पहललाई ओलीले केटाकेटी खेल सम्झेको, गोरखाको फुजेल र ओखलढुंगाका सशस्त्र द्वन्द्वकालीन मुद्दालाई ओली निकटका व्यक्तिले उठाएर माओवादीका नेताकार्यकर्तालाई फसाउन खोजेको, आफूले राखेका गम्भीर प्रस्तावलाई ओलीले अवमूल्यन गरेका कारण दाहाल ओलीप्रति बढी नै असन्तुष्ट बन्दै आएका थिए ।

माओवादीका अर्का नेताका अनुसार सशस्त्र द्वन्द्वका मुद्दा उठ्दा देउवा र दाहाल उत्तिकै दोषी देखिने अवस्था रहेका कारण पनि त्यसलाई टुंग्याउन देउवासँगको सहकार्यलाई माओवादी केन्द्रले उपयुक्त ठानेको हो । सशस्त्र द्वन्द्वकालीन मुद्दा उठ्न सक्ने खतरा महसुस गरेर नै दाहालले गत असार ७ गते अस्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर रद्द गरेका थिए ।

30.12¡ÆC