
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त स्वयम्सेवक परिचालन गरेको जनाएको छ ।
यस वर्ष अत्याधिक वर्षा हुने मौसमविद्हरुको पूर्वानुमानसँगै रेडक्रसले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ७७ वटै जिल्लाहरुमा आफ्ना तालिमप्राप्त स्वयम्सेवकहरु खटाएको हो ।
सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच सम्भावित जोखिमलाई न्युनीकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाइएको बताए । रेडक्रसले विपद् पूर्वतयारी स्वरुप मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ ।
उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए । त्यस्तै, लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको उनले बताए ।
उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा नियमित काम गरेको छ । विभिन्न खालका विपद्हरु चाहे भूकम्प होस्, चाहे आगलागी, बाढी पहिरो वा अरु किसिमका विपद्हरुमा हामीले काम गरिरहेका छौँ । पछिल्लो समय मनसुन भित्रिसकेको छ । यो वर्षको मनसुनबारे विभिन्न आँकलनहरु भएका छन् । यो वर्षको मनसुनमा पनि यस पटकको मनसुनमा औषत भन्दा बढी वर्षा हुने र त्यसले जनधनको क्षति गर्ने पूर्वानुमान छ । त्यसको पूर्वतयारीमा हामीले मनसुन पूर्वतयारी योजना निर्माण गरेको छाैँ ।’
15.13¡ÆC