कम्पोष्ट मलका लागि ढैंचाखेती

असार ९, २०८१ मा प्रकाशित | 183 views


बाँके । बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो ।

३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उहाँले बताउनुभयो । “यो लगाएपछि डिएपी मल लगाउनु पर्दैन”, उहाँले भन्नुभयो, “वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डिएपी हो तर यो बेलामा समयमै मल पाइँदैन । त्यसको साटो ढैँचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु ।”

एक कट्ठामा तीन किलो डिएपी मल प्रयोग हुने ठाउँमा ढैँचाको बीउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताउनुभयो । उहाँले यो वर्षदेखि ढैँचाको बीउको मूल्य बढेको जानकारी दिनुभयो । “अघिल्ला वर्षहरुमा ढैँचाको बीउ खरिद गर्दा मैले रु ६० देखि ७० रुपैयाँसम्म तिरेको थिएँ,” उहाँले भन्नुभयो, “यो वर्ष एक केजी ढैँचाको बीउको भाउ रु एक सय पुगेको छ ।”

धनबहादुर जस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको छ । ढँैचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ । “धानको बीउका लागि यो असाध्यै राम्रो मल रहेछ,” उहाँले भन्नुभयो, “यस्को प्रयोग गर्न सुरु गरेदेखि धान बाली सप्रिएको त छँदैछ उब्जनी पनि बढेको छ ।” ढैँचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत छ वर्षदेखि ढैँचाखेती गर्दै आउनुभएको छ । ढैँचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उहाँले बताउनुभयो । सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैँचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैँचाखेती निकै प्रभाकारी भएको बताउनुभयो । धान बालीलाई आवश्यक पर्ने कूल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । माटोको सन्तुलन बिगँ्रदै गइरहेको अवस्थामा ढैँचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको प्रमुख अहमदले जानकारी दिनुभयो ।

नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाविना छन् । यस्लाई धान रोप्नु भन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नु पर्दछ ।

यीमध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन् । जस्ले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ । ढैँचा लगाएको छ देखि सात हप्ता (फूल फल्ने अवस्था) पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुनेगरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नुपर्दछ । यसरी सडाएर राखेको हरियो मल ढैँचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रतिहेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web