पाटा अन्तर्राष्ट्रियको उपाध्यक्षमा नुवाकोटका सुमन पाण्डे निर्विरोध

असार ३, २०८१ मा प्रकाशित | 203 views


त्रिशूली ।प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा सुमन पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्रतिस्पर्धी अमेरिकाका गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

नेपाल सन् १९७५ देखि पाटाको सदस्य रहँदै आएको छ । नेपालबाट पाटाको अन्तर्राष्ट्रिय मुख्यालयमा यो तहको प्रतिनिधित्व पहिलोपटक भएको जनाइएको छ । पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटाको सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए । उनी एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चरका अध्यक्ष हुन् ।

पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपश्चात् शुक्रबार बसेको पाटाको साधारणसभाले अनुमोदन गरेको हो । सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा इन्डोनेसियाका पिटर सिमोन, उपाध्यक्षमा नेपालका पाण्डे, सचिव–कोषाध्यक्ष थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा थाइल्यान्डकै बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिंगापुरका मयुर पटेल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा निर्वाचित पाण्डे ३५ वर्षदेखि ट्रेकिङ, ट्राभल, हेलिकोप्टर, वायुसेवा, होटेल, रेस्टुरेन्टलगायत व्यवसायमा संलग्न रहँदै आएका छन् । उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य, एरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष रहिसकेका छन् । सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनकर्ता पाण्डे नै थिए ।

पाटा नेपाल च्याप्टरमा नयाँ कार्यसमिति 
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष लकाइले संस्थाको गरिमालाई उच्च बनाउँदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रवद्र्धनात्मक काममा सक्रिय हुने बताए । उनले पर्यटनमा आबद्ध संघ–संस्था र सरोकारवालालाई पर्यटनको माध्यमबाट देशको विकास र समृद्धिको साझा सपना साकार पार्न एकजुट भई लाग्न अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web