
त्रिशूली । विदुर नगरपालिकाले त्रिशूली अस्पताल मार्फत निःशुल्क उपलब्ध गराउन औषधि, खोप सहितको आवश्यक स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराएको छ ।

त्रिशूली अस्पतालको माग अनुसार विदुर नगरपालिकाको तर्फबाट नगर प्रमुख राजन श्रेष्ठले त्रिशूली अस्पतालबाट सुत्केरीलाई निःशुल्क बितरणको लागि आइरन र क्याल्सियम चक्की, न्यानो झोला सहित र रेबिज रोग विरुद्धको खोप प्रदान गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले त्रिशूली अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष राजू पण्डित र त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र लामालाई सयुक्त रुपमा औषधी, खोप र स्वास्थ्य सहायता सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विदुर नगरपालिकाको तर्फबाट अस्पतालमा सुत्केरी गराउनेलाई उपलब्ध गराउन चारसय थान न्यानो झोला, क्याल्सियम चक्की ६० हजार र आइरन चक्की ५० हजार उपलब्ध गराइएको छ । यस्तै, त्रिशूली अस्पतालमा अभाव भएर सेवा नै रोकिएको रेबिज रोग विरुद्धको खोपको अभावलाई मध्येनजर गर्दै उक्त खोप एकसय १२ भायल प्रदान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार त्रिशूली अस्पताललाई नगरपालिका मार्फत आवश्यक जनशक्ति, स्वास्थ्य सामाग्रि प्रदान कार्यक्रम अन्तरगत हरेक वर्षजस्तै यो वर्षपनि माग अनुसारको सुत्केरीलाई निःशुल्क वितरणको लागी न्यानोझोला, आइरन र क्याल्सियम चक्की प्रदान गरिएको हो ।

यस्तै, रेबिज रोग विरुद्धको खोप अस्पतालमा अभाव भएर नुवाकोटका बिरामी काठमाडौ जानुपर्ने बाध्यता भएसगैँ विदुर नगरपालिकाले सेवालाई निरन्तर उपलब्ध गराउनको लागी तत्कालको लागी एकसय २० भायल रेबिज रोग विरुद्धको खोप उपलब्ध गराएको विदुर नगरपालिकाको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिनुभयो ।
विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई उपलब्ध गराएको सहयोगबाट अस्पतालमा आउने बिरामीलाई सेवा पुराउनलाई सहजता सहित अस्पतालको सेवा विस्तार र गुणस्तर एंव विश्वसनीय कायम राख्न महत्वपूर्ण सहयोगको रुपमा लिएको अस्पतालका मेसु डा राजेन्द्र लामाले बताउनुभयो ।
यसैबीच, सोही कार्यक्रमको अवसरमा विदुर नगरपालिका मार्फत त्रिशूली अस्पताल परिसरमा सञ्चालनमा रहेको मातृ शिशु स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको क्याल्सियम र आइरन चक्की १२–१२ हजार थान नगरप्रमुख श्रेष्ठले उपलब्ध गराउनुभएको थियो ।
18.02¡ÆC