त्रिशूली (नुवाकोट) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जनताको माग र आवश्यकताको आधारमा विनियोजन गरिएको बताउनुभएको छ ।
नुवाकोटको सूर्यगढी गाँउपालिका-३ चोकदेस्थित बागेश्वरी माध्यमिक विद्यालयमा आज आयोजित ७४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री तामाङले विगतमा माथिबाटै बजेट लादने गरेकामा यो पटक तल्लो तहका जनताको माग र आवश्यकताका आधारमा समावेशी बजेट विनियोजन गरिएको बताउनुभयो ।
“विगतका वर्षमा सत्ताका नेतृत्वले आफूखुसी बजेट तर्जुमा गरेर सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउन होहल्ला र प्रचारबाजी धेरै हुने गरेको थियो ।” मन्त्री तामाङले भन्नुभयो, “अहिलेको बजेटमा जनताले माग गरेका योजना र राज्यका तर्फबाट न्याय सङ्गत रुपमा गर्नुपर्ने सम्बोधनका आधारमा तर्जुमा गरिएको छ । बजेटका शीर्षकहरु धेरै छन् । ती विषय सामाजिक सञ्जालमा होइन, रातो किताबबाट सार्वजनिक हुनेछ ।”
बजेटको प्राथमिकतामा जनताको दैनिक जनजीवनसँग जोडिएका विषयदेखि संस्कृति र धर्मको संरक्षण तथा स्वरोजगार केन्द्रित विषय प्राथमिकतामा परेको उहाँको भनाइ छ ।
नुवाकोटको ऐतिहासिक महत्वको सूर्यगढी, जीतगढी र दुधेगढी लामाको स्थानको संरक्षण र पर्यटन प्रवर्द्धन, ड्वाचे खानेपानी आयोजना, खेल मैदान र कर्भडहल निर्माणको लागी बजेट विनियोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
“वडा कार्यालय, मन्दिर र गुम्बा, पहिरो नियन्त्रण तथा वस्ती संरक्षण, सहिद पार्क निर्माण, चोकदे-मालाभञ्याङ सडक विस्तारलाई बहुवर्षीय योजनामा समावेश गरेका छौ”, उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र मजबुत छैन । अपेक्षा अनुसारको सम्बोधन नभए पनि माग र आवश्यकताको आधारमा जनता माझ राज्यको उपस्थिति हुने गरेर बजेट विनियोजन गरिएको छ ।”
मन्त्रालयको चालु आवको बजेट कार्यान्वयनको अवस्था आशा लाग्दो नभएकाले आगामी वर्ष विनियोजना बजेटको कार्यसम्पादन उत्साहजन बनाउने मन्त्री तामाङले प्रतिबद्धता जनाउनुभयो ।