वीरताको भूमी भैरमकोटको झझल्को

बैशाख ३, २०८१ 2024-04-15 मा प्रकाशित
Published at 2024-04-15

1052 views

यात्रा निवन्ध.......
वीरताको भूमी भैरमकोटको झझल्को
- श्रीराम श्रेष्ठ
भैरमकोट,नुवाकोटको सदरमुकाम विदुरबाट उत्तर दिशामा पर्ने एक प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल । काम विशेषले पहिले पनि पुगेकै ठाउँ हो भैरमकोट । तर, यसपटककको भैरमकोट यात्रा भने विशेष रह्यो । विशेष यस अर्थमा कि, साहित्यिक पदयात्रामा संलग्न भएर पुगियो यस पटक भैरमकोट ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालले बर्सेनी जिल्लाका फरक फरक स्थानमा साहित्यिक पदयात्रा गर्दै आइरहेको छ २०६४ सालदेखि । २०७५ को पदयात्रा ऐतिहासिक एवम् धार्मिक स्थल भैरमकोटमा गर्ने निधो गर्‍यो प्रतिष्ठानले । यस यात्राको थप विशेषता के रह्यो भने पहिला जिल्लाभित्रका मात्रै साहित्यकार सहभागी हुन्थे भने यस पटक जिल्ला बाहिर अर्थात् नुवाकोटभन्दा बाहिरी जिल्लाका अतिथिलाई पनि निम्ता गरिएको थियो । साहित्यिक पद यात्राको मिति तय भयो २०७५ भाद्र १६ गते ।

नुवाकोटको पृष्ठभूमिलाई नजिकबाट बुझेका प्रसिद्ध नेपाली फ्रायडवादी लेखक पुष्कर लोहनीलाई प्रमुख अतिथिका रुपमा निम्ता गर्ने निर्णय भयो । उनलाई नुवाकोट तथा भैरमकोटको ऐतिहासिकता बारेमा कार्यपत्र नै तयार गर्न लगाउने सल्लाह भयो । मैले पुष्कर दाइलाई फोन गरेँ । दाइ उत्साहित भए । ८० वर्ष काटिसकेका बूढा मान्छे पदयात्रामा हिँड्न के मान्लान् र भन्ने लागेको थियो तर उनको उत्सुकताले हामीलाई थप ऊर्जा मिल्यो । तर, मनमा भने उनलाई कसरी लैजाने होला भनेर अत्यास लागिरहेको थियो । भैरमकोटको इतिहासका बारेमा विज्ञ भएका कारण पनि उहाँलाई सँगै लैजानु थियो नै ।

संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः रामकृष्ण अमर, मुकुन्दराज अर्याल, विष्णुप्रसाद सापकोटा, भगवती लामा र सुमित्रा सुमीलाई साहित्यिक पदयात्राको सबै मेसो मिलाउने जिम्मा दिइयो । स्थानीय रेडियोहरूबाट साहित्यिक पदयात्राका बारेमा सूचना प्रसारण हुन थाल्यो । आजभोलि भन्दाभन्दै भदौ १६ गते नजिकियो । साहित्यिक पदयात्राको जम्मा हुने थलो तोकिएको थियो विदुरको लोकतान्त्रिक चौतारो । काठमाडौँ र अन्य जिल्लाबाट अघिल्लो दिन नै आइसकेका थिए । पुष्कर दाइलाई मेरै घरमा र अन्य जिल्लाबाट आएकालाई स्रष्टालाई सुमित्राको घरमा बस्ने व्यवस्था गरिएको थियो ।

निर्धारित समय अर्थात् बिहानको ६.४५ बजे पुष्कर दाइ र म मोटरसाइकलमा लोकतान्त्रिक चौतारो पुग्यौँ । हामी पुग्नुभन्दा अगाडि शिवपुरी गाउँपालिका–३ का कवि वासु ठकुरी पुगिसकेका रहेछन् । नुवाकोट साहित्य प्रतिष्ठानले गरेका गतिविधिदेखि आफू निकै प्रभावित भएको भन्दै आफू व्यक्तिगत काम पन्छयाएर काठमाडौँदेखि सहभागिता जनाउन आएको वासुले बताउँदा कम्ता खुसी लागेन ।

लोकतान्त्रिक चौतारामा पीपलको ठूलो वृक्ष छ । पुष्कर दाइले वृक्षलाई हेर्दै भने, ‘यो वृक्ष त हजार वर्षभन्दा अगाडिको हुनुपर्दछ । हाम्रा सयौँ पुस्ताको अघिको सजीव वृक्षलाई देख्न र स्पर्श गर्न पाउनु आफैँमा भाग्यको महत्वपूर्ण कुरा हो ।’ दाइले लोकतान्त्रिक चौतारा कसरी नामाकरण भयो भनेर पनि सोधे । उहाँको हाउभाउ हेर्दा फुर्तिलो नै देखिनु हुन्छ । २०६२/०६३ को जनआन्दोलनमा यसै चौतारामा मानिसहरू भेला भएर राजतन्त्र विरूद्धमा सभा गर्ने भएकाले पछि चौताराको नाम नै लोकतान्त्रिक चौतारा रहन गयो ।

मुलुकको जुनसुकै आन्दोलनमा नुवाकोटे जनताको योगदानलाई बिर्सन सकिँदैन भन्दै थिए–पुष्कर दाइ । बासुजीले दाइलाई नजिकबाटै चिन्दा रहेछन् । उनले आफ्नो डायरीबाट २/४ वटा हाइकु सुनाउन भ्याइहाले । नेपालमा हाइकुका विज्ञ पनि दाइ नै हुन् । पुष्कर दाइलाई नै पछ्याएर हाइकु लेख्नेहरूको जमात बढेको छ नेपालमा । हाइकुका विषयमा हामी तीन जनाबीच लामै छलफल भयो ।

निर्धारित समयमा पनि आयोजक संस्थाका साथीहरू नै नदेखेपछि मैले अध्यक्ष रामकृष्ण दाइलाई फोन गरे । एकैछिन्मा आइपुगे राजाराम तिमिल्सिना, श्रीधर पाण्डे, शिव देवकोटा, यज्ञरथ पुडासैनी, सुमित्रा सुमी, भगवती लामा, रामप्रसाद चालिसे, मुकुन्द अर्याल, रामकृष्ण अमर, जानुका दाहाल, सुप्रिया आचार्य, षडानन्द अर्याल, शिवा कार्की, प्रमिला परी, प्रतीक सग्रामी, श्रीया रिमाल, कोमलप्रसाद न्यौपाने, करण तामाङ, लक्ष्मी तामाङ, सुनैना उप्रेती, सीताराम पौडेल, सीता तामाङ लगायत ।

लोकतान्त्रिक चौतारामा कार्यक्रम बारेमा छलफल भयो स्थानीय सञ्चारकर्मी साथीहरूसँग । नुवाकोटमा सञ्चालित नुवाकोट एफ.एम., रेडियो त्रिशूली, जालपा एफ.एम., फ्रेन्डस् एफ.एम, रेडियो सञ्जिवनी, मिक्स एफ.एम., टी.भी. त्रिशूली, त्रिशूली खवर, त्रिशूली प्रवाह, नुवाकोट जागरणजस्ता पत्रपत्रिकाका प्रतिनिधिहरू उपस्थिति थिए । धेरैजसो एफ.एम.ले प्रत्यक्ष प्रसारण समेत गरेर सहयोग गरेका थिए ।

साहित्यिक पदयात्रा लोकतान्त्रिक चौतारादेखि भैरमकोटसम्म थियो । तर समय घट्की सकेको हुनाले संस्थाका अध्यक्ष रामकृष्णजीको सल्लाहअनुसार थुम्कादेखि पैदलयात्रा गर्ने भइयो । बिहानको ९ बजे निस्क्यिो पदयात्रा टोली । १८/२० वटा मोटरसाइकलमा ¥यालीजस्तै निस्क्यिौँ । गन्तव्य स्थलमा खानेपानी र खानेकुराको अभाव हुने हुँदा ढुङ्गेबजारमा रोकिएर चाहिने सामान खरिद गर्यौ । ढुङ्गेबजार सानो बजार भए तापनि ब्यस्त रहन्छ । रसुवा जिल्ला छिर्ने नाका भएका कारणले गर्दाले नै यो ठाउँमा प्रायःजसो भीडभाड हुन्छ । केरूङ जोड्ने सडक विस्तार हुँदै छ । सडकको बीच सेन्टरबाट दाँयाबायाँ १५/१५ मिटर बढाउन लागिएको छ । ढुङ्गेमा बस्ने जति पछि बिस्थापित हुने पक्का छ । चलनचल्तीको भाउमा मुआब्जा दिएमा स्थानीयलाई राहत होला । नत्र त मर्का पर्ने देखिन्छ ।

ढुङ्गेबजार नजिकै रहेको छ धोविखोला । त्रिशूली नदीको किनार । खोलाबाट त्रिशूलीबजार जोड्न साँघु बनाएको थियो । अहिले त्यो छैन । इतिहास खोज्दै जाँदा पाइन्छ । जङ्गबहादुर राणा आफ्नो पुरुषार्थ देखाउन त्यसै साँघुबाट त्रिशूलीमा हामफालेका थिए रे । अहिले त्यो पुल छैन । छ त केवल भग्नावशेष मात्र । अहिले त्रिशूली बजार जानका लागि पक्की पुल रहेको छ । वि.सं.२०२० मा त्रिशूली जलविद्युत केन्द्र निर्माण हुँदा सामान ढुवानी गर्नका लागि बनाएको हो । पुलको फलाममा खिया लाग्न थालेको देखिन्छ ।

पुल पार गर्न साथ त्रिशूली बजार पुग्छौँ हामी । हामी त जिल्लाबासी भएका कारण जानकार छौँ तर पहिलो पटक नुवाकोट आएका अतिथिहरूलाई यसबारे थाहा नहोला भनेर हामीले साँघुबारे प्रकाश पार्यौ । अतिथि थिए, सुर्खेतका शिवा कार्की, दाङका प्रतीक सग्रामी र प्रमुख अतिथि पुष्कर लोहनी ।

त्रिशूली बजारलाई साँघु बजार पनि भनिन्छ । यहाँबाट सामरी भञ्याङ्ग अनि त्यहाँबाट धादिङ, गोरखा र लमजुङ हुँदै पोखरा जाने मूल बाटो छ । त्यस्तै बेत्रावतीबाट तुपचे अथवा धैवुङ हुँदै केरूङ जाने बाटोका साथै स्थानीय विभिन्न ठाउँमा जाने बाटो छ । विशेषतः जिल्लाको उत्तर र दक्षिणका मुख्य मुख्य ठाउँमा जाने स–साना सबै गोरेटा र मूल बाटाहरू त्रिशूली बजारबाट नै शुरू हुन्छन् ।

त्रिशूली बजार एउटा विनिमय बजारको रूपमा काम गरिरहेको छ । नेवार, तामाङ, मुस्लिम जातिको बसोबास रहेको त्रिशूली बजार समुन्द्री सतहदेखि १,६,४० फिटको उचाइमा छ । उत्तर दिशाको हिमालय भोटेकोशी र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको चिसो हावापानीले त्रिशूली बजारको वातावरणलाई स्वास्थ्यकर बनाएको छ ।

त्रिशूली बजारको शीरमा रहेको छ इन्टेक । लोकतान्त्रिक चौतारामा छुटेका साथीहरूलाई जमघट हुने दोस्रो ठाउँको रूपमा इन्टेकको डिल राखेका थियौँ । त्यहीँ अडियौँ केही बेर ।
आइपुगे छिमेकी जिल्ला रसुवाका मित्रहरू शेरबहादुर तामाङ, प्रेमबहादुर स्याङतान, बिनोद तामाङ, कपुल घले र नुवाकोटका सम्झना तामाङ, करण तामाङ, पार्वती तामाङ, अबिना तामाङ, सीता तामाङ आदि । त्यहाँ जम्मा भएकाहरू फोटो खिच्न थाले । इन्टेकको डिल उच्च ठाउँमा रहेको हुँदा मनमोहक छ । यहाँबाट त्रिशूली, ढुङ्गे, विदुर, पिपलटार, जिलिङ आदि बस्तीहरू छर्लङ देखिन्छन् ।

वि.सं.२०२० मा स्थापना भएको हो त्रिशूली जलविद्युत केन्द्र । केन्द्रले २० मेगावाट जलविद्युत उत्पादन गर्दै आइरहेको छ । जून विद्युत नेपालका साथै छिमेकी देश भारतमा पनि वितरण भइरहेको छ । बिजुली उत्पादन गर्नका लागि तुपचेमा हेड गेड निर्माण गरी त्रिशूली खोलाको पानी नहर निर्माण गरी इन्टेकको डिलसम्म पानी ल्याएको छ । नहरको वारिपारि बारबन्देज पक्का नभएको हुँदा मानवीय क्षति बारम्बार भएको छ । नहर धेरै गहिरो छ । नहर धेरै पुरानो भएको हुँदा जीर्ण हुनु स्वाभाविकै हो । नहरको तलतिर त्रिशूली बजार रहेको छ । यदि नहर तलमाथि भएको खण्डमा बजार नै बगाउन सक्ने देखिन्छ । यसतर्फ त्रिशूली बजारका बासिन्दाहरू चिन्तित देखिन्छ ।

लामो बसाइपछि कार्यक्रमका संयोजक मुकुन्दराज अर्यालले सहभागी सबैलाई एकत्रित हुन आग्रह गरे । यात्रालाई अगाडि बढायौँ । आइ पुग्याँै हात्तीगौँडा । ‘‘यस ठाउँको नाम हात्तीगौँडा राख्नका कारण चाहिँ के हो नि, श्रीरामजी ? पुष्कर दाइले सोधेँ । आफूलाई जानकार नभएको मैले बताए । हात्तीगौँडाबाट सामरी भञ्याङ्ग हुँदै धादिङ्ग, गोरखा जाने मूल बाटो छ ।’’ शहरीकरणले गर्दा यहाँ चहल पहल बढेको देखिन्छ । जिल्ला एक मात्र त्रिशूली अस्पताल हात्तीगौँडामा नै रहेको छ । यो अस्पताल नुवाकोटका निम्ति मात्रै नभएर छिमेकी जिल्ला रसुवा र धादिङका जनताहरूको पनि उपचार थलो हो । वि.सं.२०३२ बाट अस्पताल सञ्चालन भएको हो । भूकम्पले छतबिच्छेद भएका कारणले लामो समयसम्म पाल र अस्थायी घरमा अस्पतालले सुविधा दिँदै आएको छ । अहिले पक्की भवन निर्माण क्रममा देखिन्छ । जे होस् सरल र सुलभ तरिकाले अस्पतालबाट बिरामीहरूले सेवा पाए राम्रो ।

त्रिशूली अस्पताल गेटबाट अघि बढ्ने क्रममा पिच बाटोको दायाँ बायाँ क्रकिंटका घरहरू बाक्लै देखिन्छन् । भूकम्पपछि स्थानीयबासीका साथै अन्य ठाउँबाट बसाई सराई गर्नेहरूले निर्माण गरेका हुन् घरहरू । २/४ वर्ष अघि आउँदा सबै खालीजस्तो थियो अहिले सबै घरले भरिएछ भन्दै थिए पुष्कर दाइ, ‘विदेशतिर समथर जमिनमा खेतीपाती गर्नुका साथै कलकारखाना राखी डाँडाकाँडामा बस्ती बसाल्छन् तर हाम्रो नेपालमा भने विपरित । मिसन र भिजन नभएका राजनीतिज्ञले गर्दा विकास पछि पर्‍यो नेपाल ।’
दशमुरे फाँट । हात्तीगौँडाको तुलनामा घरहरू कम देखिन्छ । खेतीयोग्य जमिन प्रशस्त देखिए । मोटर बाटोको दायाँ बायाँ टनेलद्वारा तरकारी खेती गरिएको देखियो । तरकारीमा गोलभेडा, काउली, साग, च्याउ आदि । यो दृश्य देखेर मनलाई नै आनन्दित तुल्यायो । पुष्कर दाइ हौसिँदै थिए, नेपालीको कर्मफल भन्दै ।

यसरी खेतीयोग्य जमीन हेर्दै हामी थुम्का आइपुग्यौँ । आजको पदयात्रा यहीँबाट थालनी हुने छ । पदयात्रामा छुटेका केही साथीहरूलाई रामकृष्ण, मुकुन्दराज, श्रीधर, सीताराम र रामप्रसादले मोटरसाइकलबाट ओसारे । थुम्काको चौतारीमा जम्मा भई सहभागीहरूको गन्ती गर्यौँ । ५२ जना भएछौँ । बिहानको नास्ता भगवतीको घरमा ब्यवस्था थियो । सुमित्रा, भगवती, जानुका, प्रमिलाले सहभागी सबैलाई खादा लगाएर स्वागत गरे । पदयात्राको शुभारम्भ प्रमुख अतिथि पुष्कर लोहनी, विशेष अतिथि द्वय शिवा कार्की र प्रतीक संग्रामीलाई अगाडि हिँड्न लगाई गरियो ।
वर्षाको बाटो त हो जताततै पहिरोले बाटो नै अवरूद्ध भएका कारण हिँड्न समेत मुस्किल भयो । ठाडो भीर चिप्लो बाटो यात्रा तय गर्न हम्मे हम्मे भयो । चिप्लेला भन्ने डर । यदि केही गरी चिप्लेमा ज्यान नै नरहला भन्ने डर । चार हातपाउ टेकेर ढिस्काहरू छिचेल्यौँ । पुष्कर दाइलाई म र रामप्रसादले डोर्याउँदै पार गरायौँ । असिनपसिन भएर जिउ भिजेको छ । रातोमाटो पोतिएको छ हातखुट्टादेखि कपडाभरि । बिजोग नै भयो । केही समयको अन्तरालमा सानो खोला जस्तो देखियो । केउरेनी रहेछ खोलाको नाम । हातखुट्टा धुनाका साथै कपडा सफा गर्यौ खोलाको पानीले ।

पहाडै पहाडले घेरिएको खोँचको खोलामा थकाई मारी फोटो खिच्यौँ । कल कल गरेको निर्मल पानीको स्पर्शको अनुभूति बिछट्टै आनन्ददायी । ‘पदयात्रा त ऐतिहासिक हुने भो नि श्रीराम दाइ’ भनेर पानीमा हातखुट्टा चोपल्दै थिए आशिक भट्ट । हुन पनि हो प्रकृतिसँग रमाउन पाएमा कसको पो मन आनन्द नहोला र ?

यात्रा कष्टकर भए तापनि सबै साथमा हातमा कपी र डड्पेन नै देखिन्छ । यात्रा गर्दाको बीच समयमा अनुभूत गरेका भावनाहरू टिपोट गर्नका लागि । सबैले रचना सिर्जना गरी सुनाउनु पनि त छ । संस्थाका अध्यक्ष रामकृष्णले कति चाँडो कविता रच्न भ्याइसकेछन् । सुनाए,

मनोभाव खुबैसँग भित्रै जगाएर
साहित्यिक पदयात्रा लेख्छु उठाएर ।
दुई हजार पचहत्तर भाद्र महिना सोह्र
साहित्यको पदयात्रा जम्यो घनघोर ।

खोलाको निश्चल पानीले फ्रेस भएर यात्रालाई तन्कायौँ र अगाडि बढ्यौँ । ठाडो उकालो हरियाली वनजङ्गल । लामो समय भयो हिँड्न थालेको पदयात्रामा सहभागी हामी बाहेक कोही पनि भेटिएन । सालको बाक्लो घना जङ्गल छ । हप्पहप्पी पोलेको छ । हावा चलेको छैन । पसिनाले नुहाएको जस्तो गरी जिउनै भिजेको छ । थकान त्यत्तिकै, कठिनाइले गर्दा खुट्टा फथक्कै गलेको छ । सास फेर्न पनि गारो पर्‍यो । थकाई मार्दै अगाडि बढ्ने क्रममा बल्ल देखियो एउटा घर । घरको करेसामा संस्थाकी तिनै भगवती खनाल हाम्रो बेग्र प्रतीक्षामा बसेकी रहेछिन् ।

सबैले लामो सास फेर्दै आगनमा बिछ्याएको सुकुलमा थकाई मार्यौ । त्यसदिन भगवतीको हजुरआमाको पुण्यतिथि रहेछ । पितृप्रसाद ग्रहण गर्यौ । भगवतीकी आमासँग पनि परिचय गर्यौ । त्यहाँ बाढीपहिरोले गर्दा खानेपानी र बिजुली बत्ती अवरूद्ध भएको एक हप्ता भएको रहेछ । दुई घण्टा लगाएर खोलादेखि खानेपानीको जोहो गरिरहेको दुःखेसा आमाले गरिन् । खात्रे र केउरीनी खोलाको बीच पर्दो रहेछ आत्मारा केउरेनी गाउँ । विदुर नगरपालिका भित्र परे तापनि यो गाउँ विकटता देखिन्छ । बस्तीको हिसावले पातलो छ । डाँडाकाँडा, हरियाली वनजङ्गल देखिने यस भूभाग सेपिलो तथा पानी सधैं जसो बगिरहने भएकाले यस ठाउँको नाम केउरेनी राखेको रहेछ । विकास निर्माणको सबै सुविधा पुर्याएर बस्ती बसाल्ने हो भने केउरेनीलाई दार्जिलिङसँग तुलना गर्न सकिन्छ ।

अब यात्रालाई दिशानिर्देश गर्ने भइन् भगवतीले । उनी त्यस भेगकी रैथाने । ‘कति लाग्छ यहाँबाट भैरमकोट ?’ सोध्यौ । ‘करिब दुई घण्टा’ भगवती भनिन् । सबैको हंशले ठाउँ छोड्यो । उकालै उकालो सालघारीको बाफ । मलाई चिन्ता लाग्न थाल्यो । आफ्नोे होइन पुष्कर दाइको । हिँडेर त पक्कै जान सकिँदैन । अघि आएको बाटो फर्काएर मोटर साइकलमार्फत् यात्रा तन्काउने विचार गरँे । र, सबै साथीहरूलाई यात्रा अगाडि बढाउन अनुरोध गरी म, सीताराम, रामप्रसाद र पुष्कर दाइ फक्र्यौं । हामी तीन जनाले समात्दै बल्लतल्ल मोटरसाइकल भएको ठाउँमा ल्यायौँ । पुष्कर दाइको अनुहार निन्याउरो भएको थियो । मलाई अप्ठ्यारो लागेर उनको मुख हेर्न सकिनँ । पुष्कर दाइलाई नरमाइलो नहोस् भनेर रामप्रसाद फुक्र्याउँदै थिए ।

कच्ची मोटरबाटोमा सावधानीपूर्वक मोटरसाइकलमार्फत अघि बढ्याँै । कच्ची मोटरबाटो भए तापनि मर्मत सुधारले गर्दा अप्ठ्यारो महसुस भने भएन । कुवापानी गाउँ पुग्यौँ । २/४ वटा पसल देखिए । चियापानी पिउने सल्लाह भो । पसलेसँग भलाकुसारी गर्यौ । गाउँमा सबैले कुवाको पानी पिउने भएकोले नै गाउँको नाम कुवापानी भएको रहेछ । उक्त कुवाको पानी सङ्कलन गरी सबैले बाँडीचुडी प्रयोग गर्ने गरेका रहेछन् ।

म विविध कारणले धेरै पटक पुगेको छु कुवापानी । त्यस भेगका प्रायःजसो सबैलाई चिन्दछु । कुवापानी पुग्ना साथ कुमार बोगटीलाई सम्झिन्छु म । द्वन्द्वकालमा सरकार पक्षबाट मारिए उनी । सङ्कटकालमा रवि बोगटी(पोष्टबहादुर बोगटीको छोरो) र कुमार बोगटीसँग कुवापानीकै जङ्गलमा भलाकुसारी भएको थियो मेरो । राजनीतिक आस्था फरकफरक भए तापनि कुमार र मेरो आत्मीय सम्बन्ध थियो । परिवारको मुख्य मान्छेको अवशान भएपछि के होला बाँचेकाहरूको अवस्था ? साँच्चै नै अहिले कुमार नहुँदा परिवारलाई खल्लो महसुस हुनु त स्वाभाविकै हो । जीवनयापनका लागि पनि निकै कष्ट भएको सुनेको छु ।
पानी पर्लाजस्तो भयो । सीताराम यात्रा नै खल्लो होला जस्तो छ भन्दै थिए । प्रकृतिले स्वागत गरेको हो रोकिन्छ पानी रामप्रसादले भने । फराकिलो बाटो बाइक हँुइक्याउँदै अगाडि बढ्यौँ । नभन्दै पानी पर्न रोकिएर घाम पो लाग्यो ।

आल भञ्याङ्ग । गाउँको नाम । बाटो छेउमा अहिले देखिन्छ पानीको आल । शाहबंशीय कालमा माटोको कुलोबाट पानी ल्याएर आलपोखरी बनाएको स्थानीयबासीको कथन छ । पानीको निकास कताई देखिदैन तर पानी भने सुक्दैन रहेछ । पोखरीको पानी गाईवस्तुलाई खुवाउने गरेका रहेछ । आल पोखरी छेउँमा नै भेटिए भवानी चौधरी । तिनी भैरम मा.वि.का शिक्षक ।

चार सय विद्यार्थी रहेको विद्यालयमा दरबन्दीका शिक्षक पर्याप्त नभएकोले पठन पाठन गर्न अप्ठ्यारो परिरहेको बताए उनले । मा.वि.स्तर उतीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न दूरीको हिसावले टाढा रहेकोले प्लस टु कक्षा सञ्चालन गर्न सकेमा विद्यार्थीहरूलाई राहत मिल्न जाने कुरा शिक्षक चौधरी कथन थियो । विद्यालयको भौतिक पूर्वाधार र विद्यार्थी सङ्ख्या हेर्दा व्यवस्थापन पक्ष सवल हुने हो भने पक्कै पनि विद्यालयको स्तरउन्नती गर्नु पर्ने देखिन्छ ।

आलपोखरी नजिकै उत्तरतर्फ फड्के भञ्याङमा धराप राखेको ठाउँ रहेछ । यो ठाउँ पृथ्वीनारायण शाहको पालाको हो । त्यसबखत नेपालको सीमाना तिब्बत थियो । तिब्बतीयनहरू नेपाल माथि अाँखा गाड्थे । बेलाबेलामा आक्रमणको प्रयास गर्थे । पृथ्वीनारायण शाहले आफ्नो राज्य सुरक्षित राख्नका लागि धराप थाप्ने गर्दथे । ढुङ्गाको चाङ लगाई शत्रुहरू अगाडि बढ्ने क्रममा ढुङ्गाले थिचेर मर्दथे रे । ढुङ्गाको गाह्रो डोरीले बाँध्ने र डोरी काटेर ढुङ्गा लडाउने गरिन्थ्यो । केही वर्ष अघि मात्र ढुङ्गाहरू भेटिन्थे तर अहिले स्थानीयले प्रयोगमा ल्याएको हुँदा भेटिदैन । पृथ्वीनारायण शाहले धरापको अलवा ढुङ्गाको घुयत्रो समेत प्रयोग गर्दथे भनिन्छ ।

उनले खिन्चेतमा शत्रुसँग लड्नका लागि गढी समेत निर्माण गरेका थिए । उक्त गढीलाई छानाडाँडो गढी भनिन्छ । गढीको वरिपरि सुरूङ खनेका थिए । पृथ्वीनारायण शाहले त्यसै सुरूङमा आफ्नो फौज लिएर तिब्बतीयनहरूसँग युद्ध समेत लडेका थिए । युद्ध लड्दाको बखत सेनाहरू खानाका लागि भत्तेर पकाएर खाएका थिए । तसर्थ, सो ठाउँको नाम भतेरे भनियो । गढी तथा सुरूङ अहिले पनि भग्नावशेषको रूपमा देख्न सकिन्छ ।

आल पोखरीको बसाईमा धेरै कुराहरू बुझ्न पाइयो । ७३ वर्षीय झंकनाथ लामिछानेसँगको भलाकुसारी फलदायी रहन गयो । पृथ्वीनारायण शाहको बारेमा उहाँलाई धेरै जानकार रहेछ । झंकनाथ आक्रोशित हुँदै भन्दै थिए– ‘पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकरण गरे तर संघीयता अनुरूप देश प्रदेशमा विभाजन भएको हुँदा कतै मुलुक अन्तरद्धन्दमा फस्ने त होइन ।’’

संघीयताको बेफाइदा भन्दा फाइदा बढी नै छ । केन्द्रमा रहेको अधिकार स्थानीय र प्रदेशमा आएको छ । तसर्थ, आम जनमानसलाई बुझाउन नसक्नाले संघीयताको बारेमा नकरात्मक टीप्पणीहरू धेरै भएका छन् भन्ने कुरामा मुकुन्दराज अर्यालले जोड दिए । थोरै समयको बसिबियालोमा पृथ्वीनारायण शाहको योगदान र समसामयीक राजनैतिक घटनाक्रमको बारेमा बातचित ग¥यौ । भेटघाट तथा छलफल उपलब्धिमूलक रहन गयो ।

बर्षातको पानीले बाटो ठाउँठाउँमा बिग्रिएको हुँदा आल पोखरीबाट भैरमकोटसम्म हिँड्नै पर्ने भो । हिँड्नका लागि पुष्कर दाईलाई गारो हुने नै भयो । पुष्कर दाई मेरो मुखमा हेरेर हाँस्दै हुनुहुन्थ्यो । दाइ यो ठाउँमा कतिनै आइन्छ र दुःख नमान्नु होला बिस्तारै हिड्ने हो भनेर मैले थप ऊर्जा दिने प्रयास गरे । पुन : हिँड्ने काम भयो । आल पोखरीदेखि भैरमकोटको आधाबाटोमा बाघ भैरव भजन मण्डली समूहका अध्यक्ष तोयानाथ गौतमको बास गृह रहेछ । हामीलाई भैँसीको दुध, मोही र पानी खान दिएर धेरै नै राहत दिलायो ।

बिस्तारै बिस्तारै हिँड्दै थकाई मार्दै पुगियो भैरमकोट । बृहत राष्ट्र एकीकरण गर्ने नवीन विचार लिई हिँडेका पृथ्वीनारायण शाहले वि.सं.१८०० मा नुवाकोट हमला गर्न बनाइएको कोट भैरमकोटले पुजिन्छ । नुवाकोटमा रहेको नौ कोट मध्ये एक हो भैरमकोट । सीमा निर्धारण गर्ने क्रममा धँुवाकोट धादिङमा र धैबुङकोट रसुवामा पर्दछ । उक्त कोटको निर्माण ढुङ्गा, इट्टा र माटोबाट भएको थियो । तर अहिले कोट भग्नावशेषमा परिणत भएको छ । कोट उच्च ठाउमा रहेको छ । चारैतिर ठाडो भीर रहेको छ । चारैतिरबाट हमला गर्न नसकिने दृश्यले बताउँछन् । शत्रुले आक्रमण गर्न आएमा ढुङ्गा गुल्ट्याउने, ढुङ्गाको घुँयत्रो प्रहार गर्ने काम गरिन्थ्यो ।

भैरमकोटको परिसर भित्र बाघ भैरवको मन्दिर रहेको छ । विशेष गरेर माघे संक्रान्ती र प्राय : जसो अरू दिनमा तीर्थयात्रीहरू पूजापाठ गर्न मन्दिर धाउने गर्दा रहेछन् । मन्दिरमा दुईवटा पत्थरद्वारा निर्मित बाघको मूर्ति छ । आज भन्दा सयौ वर्ष पहिलेसम्म मन्दिरलाई बाघ भैरवको नामले पुकारी भाकल गर्दा मन्दिरको शिलाबाट बाघहरू जुधेको प्रत्यक्ष देख्नुका साथै शिलाबाट पसिना आएमा मनले

चिताएको कुरा पुग्ने स्थानीयहरूको भनाइ सुनियो । एक दिन पृथ्वीनारायण शाहले पनि मन्दिरमा भाकल गर्दा ती बाघहरूका शिला जुध्नुका साथै मन्दिरभित्र रहेका शिलाबाट पसिना आएको र अन्य ठाउँमा उनले आक्रमण गर्दा सफलता मिलेको बताइन्छ ।

मन्दिरमा रहेको शिलाद्वारा निर्मित बाघभैरवको मूर्ति, कालिका माई र महादेव मुर्ति चोरी भएकाले हाल ढुङ्गाको मूर्ति स्थापना गरेको रहेछ । मन्दिर आसपासको जङ्गलमा घाँस दाउरा काटेमा बाघले दुःख दिने बताइन्छ । अझै मन्दिरको मूर्ति हराएपछि बाघ बौलाएर हिडेको कथन पनि गाउँलेहरू सुनाउँछन् । देवताको मूर्ति हराई ढुङ्गाको मूर्ति स्थापना गरिएपछि मन्दिरमा तीर्थयात्रीहरूको आगमनमा निकै नै कमी आएको छ । उक्त मन्दिरमा बडादशैंमा जमरा राखिने तथा पूर्णिमाको दिनसम्म पुजारीबाट हाँस, कुखुरा, बोका, सुँगुर, राँगा आदिको बलि दिने चलन छ भने माघे सक्रान्तिको अघिल्लो दिन आफ्ना आमाबुवा नभएकाहरू मृतात्माको शान्तिका लागि सम्झना स्वरूप बत्ती बाली जाग्राम बस्दछन् । त्यस रात तीर्थयात्रीहरूका साथसाथै स्थानीय बासीन्दाहरू खैजडी बजाएर नाचगान गर्दछन् र बिहानी पख बाघभैरवको दर्शन गरी आ–आफ्ना घर प्रस्थान गर्दछन् ।

मन्दिरको हेरचाह र मर्मत सुधार गर्न पुजारीको लागि केही गुठी जग्गाको पनि ब्यवस्था गरिएको छ । मन्दिरको आयस्रोत भन्नु नै गुठी जग्गामा उब्जनी भएको अन्न र मन्दिरमा श्रद्धालुहरूले चढाएको भेटी हो । पृथ्वीनारायण शाहको पालादेखि यस मन्दिरमा मगर जातिका मान्छे नै पुजारीको रूपमा रहँदै आएका छन् । भुइँचालोले गर्दा मन्दिर भत्कन गई छत बिनाको मन्दिर भएको छ । भैरमकोटको अवलोकन गर्न अहिले पनि आन्तरिक र वाह्य पर्यटकहरू आउने गर्दछन् ।

‘भूइँचालोले मन्दिरको संरचना सबै भत्कियो । लामो समय भयो फेरि बनाउन नसकेको । सिङ्गो गाउँको गहना भनेको नै यो मन्दिर र कोट हो । कसले बनाइदेला बावु’ भन्दै स्थानीय ८२ वर्षका ठाकुरबहादुर खातीले दुःखेसा पोख्दै थिए । साच्चै हो लुगाफाटा नलगाई निर्वस्त्र भएर उभिएको मान्छेको रूप जस्तै भएको छ मन्दिरको अवस्था । बस् हामीले पनि हेर्ने र सुन्ने मात्र त हो । के नै गर्न सकिन्छ र !

कोट रहेको ठाउँको नाम बारेमा स्थानीयको भनाइ छ– ‘पृथ्वीनारायण शाहले आफूलाई खानको लागि पकाइ राखेको गहत छ्यापेर पहरा खन्न सफल भएको हुँदा गाउँको नाम नै गहते रहन गएको हो ।’ त्यस्तै भैरमकोटदेखि बागेश्वरीको दूधेलामाको भूगोलको शिला एउटै ढिक्का रहेको पनि स्थानीय बताउँछन् । कोट वरिपरी खनजोत गर्दा कर्द, खुकुरी, ओखल, सुकुलजस्ता पूराना सामाग्रीहरू फेला परेको देखिन्छ ।

पृथ्वीनारायण शाहको पालादेखि नै भैरमकोटमा बाघ भैरव मन्दिरको स्थापना गरी पूजापाठ कार्य चलाउदै आएको छ । पूजारीको रूपमा मगर जातिका युवा पूजारी हुने चलन छ । त्यस्तै, भ्यागुते पूजारी टोलका दमाइहरूले नहरा लगाउछन् । नहरा लगाउदा पञ्चे बाजा बजाउछन् । विशेषत घटास्थापनादेखि टीकाको दिनसम्म नहरा लगाईन्छ । नहरा लगाउने दमाईहरूका लागि गुठीको जग्गा जमिन दिएको छ । कुवापानी गाउँमा गुठी जग्गा रहेको छ । तर नेपालमा जव द्धन्दकालको सुरूवात भयो त्यस समयदेखि नहरा लगाउने काम नभएको स्थानीयको भनाई छ ।

भ्यागुते बस्तीको नाउँ हो । भैरमकोट नजिकै भ्यागुते गाउँ रहेको छ । जहाँ मगरहरूका बाक्लै बस्ती छ । यस भेगका मगरहरूको पनि आफ्नै अस्तित्व छ । पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्नाका लागि गोरखाबाट मगरहरूको सहयोग लिएका थिए । वीर मगरको आटिलो स्वभावले गर्दा नै पृथ्वीनारायण शाहले युद्धमा सफल भए । युद्धको क्रममा पहिलो सेना थिए–विराज थापा मगर । पृथ्वीनारायण शाहले नुवाकोटको चालचलन बुझ्नका लागि पहिले उनलाई नै पठाएको थियो ।

त्यस्तै, खिनचेत पनि गाउँको नाम । खिनचेतले धेरै भेग समेटिएको छ । खिनचेत ठाउँको नाम राखिनुको कारण यस्तो रहेछ– गोरखाका राजा नरभूपाल शाहको देहाबसन पश्चात् उनका छोरो पृथ्वीनारायण शाह राजा भए । मात्र २० वर्षको उमेरमा राजा हुँदा पृथ्वीनारायण शाहले बुवा नरभूपालले हार खाएको नुवाकोटमा आक्रमण गरी हत्याउने विचार राखेका थिए ।
सेना प्रमुख विराज थापाको नेतृत्वमा आएको गोरखा सेनाका दलबल सहित नुवाकोट आक्रमण गर्दा हार खाए । बास बस्नका लागि भैरमकोटको उकालो लागे । थकाई मार्न बीच बाटोमा आराम गरे । पृथ्वीनारायण शाहको मनमा अनेकन कुरा खेल्न थाल्यो । हारको अनुभूतिले मन खिन्न भएका कारणले थकाई मारेको ठाउँको नाम खिनचेत राखेका हुन्–पृथ्वीनारायण शाह आफैंले ।

भ्यागुतेका मगरहरू आफूहरू लखन थापाका सन्तान हौँ भन्छन् । पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखा गण नामक मगर बटालियनमा लखन थापा वि.सं. १९११ मा भर्ति भएका थिए । यस गणले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यस बखत बाइसे, चौबिसे, काठमाडौं, कुमाउ, गढवालका स–साना राज्यहरू समाप्त पार्ने काम भएको थियो । एकीकरणको अभियानमा लखन थापाको योगदान अतुलनीय रहेको छ । लखन थापा देशभक्ति नै थिए । मगर बटालियन जङ्गबहादुर राणाको मात हातमा थियो । जङ्गबहादुरको निरकुंश व्यवहारदेखि धेरै सेनाहरू रूस्ट थिए । जङ्गेको हेपाहा प्रवृद्धि सहन नसकेर सेनाहरूले बिद्रोह समेत गर्न तत्पर भए । जङ्गबहादुरले राज्य एकीकरणको बहानामा आफ्नो स्वार्थका लागि सेनाहरू परिचालन गर्थे ।

लखन थापाको बिद्रोहको मुख्य कारण मगरको आफ्नो गुमेको गोरखा राज्य फिर्ता गराउने र मगरहरूको राज्यप्रति गरेको योगदानको अबमूल्ययन गरेको भन्ने नै हो । सन् १८६९ मा लखन थापा तीन महिनाका लागि पल्टनबाट विदा लिई आफ्नो घर गोरखाको बुङकोट गए । पल्टन फर्केनन् । लखन थापाले आफू बस्नका लागि ठूलो दरवार बनाए । चारैतिर ठूलो पर्खाल लगाए । आफ्नो सेनालाई तालिम दिनका लागि ग्राउण्ड पनि बनाए । १५०० सय जती सैनिक दस्ता खडा गरेका थिए । गाउँलेहरूले लखन थापालाई राजा जस्तै मान्थ्यो । लखन थापालाई पनि बिद्रोह गरेको नाममा सैनिकको मद्दतबाट कारबाही चलाइयो । गाउलेहरूसँग पैसा ठगेको आरोप लखन थापालाई लगाएको थियो । गिरफ्तार गर्न साथ बिद्रोह स्वीकार गर्न लगाई सबैको अगाडि वि.सं.१९३३ मा लखन थापाको जिब्रो काटी हत्या गरिएको थियो । गोरखाका बुङकोटबासीले पौष महिनाको पहिलो हप्ता लखन थापालाई भङ्गेरी देवताको रूपमा पञ्चवली दिई पूजाआजा गर्ने चलन अहिलेसम्म पनि जीवन्त रहेको छ ।

भैरमकोटको पृष्ठभूमिलाई खोतल्दै सल्लाघारीको फेदमा चिसो शीतलताले अल्हादित हुँदै थियौँ । भगवतीको नेतृत्वमा पैदल यात्रामा सहभागी भएका सबै जना आइपुगे । भैरमकोटको प्राङ्गणमा सबै जना जम्मा भयौँ । सदरमुकाम विदुरबाट सहभागी थपिए –लोकबहादुर पुडासैनी, बादलमान श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, सन्तोष बोगटी, राजेन्द्र बोगटी, बाशु कारन्जित । कार्यक्रम संयोजक मुकुन्दराज अर्यालले स्थलगत लेख्नका लागि साहित्यका विधाहरू विभाजन गरे । एक घण्टा लेख्नका लागि समय छुट्याइयो । लेख्नका लागि सबै लाखापाखा लागे ।

स्थलगत रचना सृजना गरी स्थलगत नै वाचन गर्नका लागि औपचरिक कार्यक्रम गर्ने भयौं । भत्किएको मन्दिरको उत्तरपट्टी कार्यक्रमको ब्यानर टासिएको छ । हामी सबै चौरमा वरिपरि पलेँटी कसेर बसेका छौँ । संस्थाका अध्यक्ष रामकृष्ण अमरको सभापत्विमा भएको कार्यक्रमको प्रमुख अतिथि पुष्कर लोहनीले यात्राले भैरमकोटको ऐतिहासिकतालाई उजागार गर्ने प्रयास प्रशंसनीय रहेको कुरा बताए । उनले पृथ्वीनारायण शाहले राज्यलाई गरेको योगदान र नुवाकोटको महत्वको बारेमा प्रकाश पारे । कार्यक्रममा बासु, रामराजा, श्रीधर, सुमित्रा, शिवा, भगवती, सुप्रिया, प्रेम, कपुल, तोयानाथ, जानुका, प्रमिला, प्रतीक, आशिक, भगवती, कोमलप्रसाद, यज्ञरथ, मुकुन्दराज, करण, कविन्द्र, रामप्रसाद, सीताराम, लोकबहादुर, वाशु, राजकुमार, भावना, विष्णुप्रसाद लगायतले गीत, कविता, गजल, हाईकु, मुक्तक, सिजो लगायतका रचना वाचन गरे भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सह–सचिव भगवती लामाले गरेकि थिइन् ।

स्थानीय बाघ भैरव महिला समूह र अभियान महिला समूहका ८०/९० जना महिला दिदीबहिनीहरू कार्यक्रममा सहभागी भएका थिए । औपचारिक कार्यक्रम सकिएपछि बाघ भैरव भजन मण्डलीद्वारा भजन बालुन प्रस्तुत गरियो । मूल गुरू तोयानाथ गौतमलाई साथ दिनका लागि गुणबहादुर गौतम, झंकनाथ लामिछाने, मेघबहादुर खड्का, ईष्टबहादुर रिमाल, थीरबहादुर रिमाल, बुद्धनाथ रिजाल, चेतनाथ रिजाल, हरिबहादुर रिजाल, गणेशप्रसाद रिजाल, कुलप्रसाद लामिछाने, राजेन्द्र गौतम, केशवप्रसाद रिजाल र मेघबहादुर खातीले सहभागिता जनाएका थिए । हामी पनि मिसिएर जानी नजानी नाचगानमा सहभागिता जनायौँ । छोटो समयमा सम्झेर कथा वस्तु रच्तै भट्याउने कला उद्भूत लाग्छ । मूल गुरूले २/२ श्लोक भट्टाएपछि अन्यले पछि गाउँने र नाच्ने गरिदो रहेछ । नाच्ने टोलीलाई गर्रा भनिन्छ । चार जोडीहरू नाचमा सहभागीता जनाएका थिए । प्रस्तुत गरिएका भजन बालुनमा कथाबस्तु पृथ्वीनारायण शाहको राज्यकाल र मन्दिरको विषय वस्तुमा केन्द्रित थियो ।
केही अंश :
टुक्रिएको राज्यलाई एकीकरण गर्नाका लागि
पृथ्वीनारायण शाह गोरखाबाट आएर
भैरमकोट र बाघ भैरम स्थापना गरेर
पृथ्वीनारायण शाहका सेना बसेको ठाउ थलो
सेनाले दुष्मनलाई फाइरिङ गरेका बङ्करहरू
ए हजुर नारायण
नारायण.......................
पृथ्वीनारायण शाहले टुक्रिएको राज्य
एकीकरण गर्न भगवान स्थापना गर्नु पर्ने रहेछ
यस्तै जालपा भए भैरवी भए बाघ भैरव भए
भगवानको आरधना गर्‍यो भने
टुक्रिएको राज्य पनि एकीकरण हुने रहेछ
ए हरि नारायण
भन भन अब चाहिँ कसो गर्ने हो
भन भन अब चाहिँ कसो गर्ने हो ।

ब्राम्हण, क्षेत्री जाति नाचगान गर्छन् बालुन बजाएर । बालुन नाचलाई बाहुन नाच पनि भनिन्छ । हिन्दू ग्रन्थहरू जस्तै गीता, रामायण, देवी भगवतीका विषयमा कथाहरू झिकि बालुन नाचगान गरिन्छ । पुराण, ग्रहशान्ति, रूद्री, चण्डीपाठका साथै शिवरात्री, बालचतुर्दशी, हरिबोधनी, एकादशी लगायत अन्य धार्मिक उत्सवमा बालन नाचिने गरिन्छ । झ्याली, झ्याम्टा, मजुराजस्ता बाध्य बाधन बजाएर ४२७ चरणमा नाच्ने गरिदो रहेछ । बालन नाचिने थलोमा एउटा खम्वा गाडिएको हुन्छ । खम्वालाई मालिका भनिन्छ । खम्वाको वरिपरि नाचिने गरिन्छ । पृथ्वी, जल र आकाशका सबै देवता पुकारेर बालन नाचगान सुरू गरिन्छ । प्राय: जसो नाचगानमा सहभागी हुनेले नेपाली दौरा सुरूवाल लगाउँछन् भने मूल गुरूले माला पहिरिहने गर्छन् । नाच्दा भगवानको नक्कली अवतार जस्तै राम, लक्ष्मण, सिता, हनुमान, रावण, कंश, विष्णुका अवतारमा नृत्य गरिन्छ । नक्कल गर्नेको जीउमा देवीदेवता चढ्ने गरिन्छ भन्ने विश्वास छ । गीत तल माथि गरेमा नाच्ने ब्यक्ति घाइते हुनुका साथै अन्य जोखिम आइलाग्ने भनिन्छ । हनुमान बन्नेले घरको छाना उधार्ने, हाँगा भाँच्ने, रूख पात टोक्ने, केराको घरी बोक्ने आदि गतिविधि गर्दछन् । बालुन नाचगान साँझदेखि बिहानी पखसम्म नाचिन्छ । नाचगान सकेपछि बालुन समूहलाई टीका टाला गरी दक्षिणा पनि दिने गरिन्छ । बालुन समूहले देवीदेवताको नाम उच्चारण गरी आर्शिवाद दिइन्छ ।

आज भन्दा ५० वर्ष अघि गहते गाउँमा बालुन भजनका थालनी भएको रहेछ । दिननाथ लामिछानेबाट सुरू भई हस्तबहादुर लामिछाने हुँदै तोयानाथ गौतम मूल गुरू हुन् । १८ वर्षदेखि आफू मूल गुरू रहदै आएको बताउने तोयानाथ गौतम भावी पुस्ताले पूर्वजको संस्कृतिलाई लत्याउने हो कि भन्ने चिन्ता ब्यक्त गर्दै थिए । १५ वर्ष उमेरदेखि भजन बालुन लागेका बताउने तोयानाथ धार्मिक कार्यक्रममा पंण्डितहरूको प्रवचनबाट प्रभावित भई बालुन भजनतिर आकर्षित भएको बताउँछन् । लोप हुने स्थितिमा पुगेको नेपाली संस्कृति अर्थात बालुन भजनलाई जगेर्ना गर्नतर्फ लागेका गहते गाउँका दाजुभाइहरूको कार्य कम्ता प्रशंसनीय छैन ।

कार्यक्रमको अन्ततिर अर्थात् दिउँसो तीन बजे मज्जाले पानी पर्‍यो । कार्यक्रम छोट्याएर हामी रूझ्दै भिज्दै गहते गाउँको एउटा होटलमा पुगेर खाना खायौँ । अनि पृथ्वीनारायण शाहको वीरताको भूमिबाट बिस्तारै ओझेलियौँ हामी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.