मुख्य पर्यटकीय सिजनमै पर्यटन बोर्ड निष्क्रिय

चैत्र २५, २०८० मा प्रकाशित | 283 views


काठमाडौँ । पर्यटन प्रवर्द्धनकाे मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड मुख्य पर्यटकीय सिजनमै निष्क्रिय रहेको छ । देशको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले लक्ष्यअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यविमुख अवस्थामा पुगेको पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको भनाइ छ । जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका हो, अहिले बोर्ड त्यो उद्देश्यअनुसार सञ्चालनमा नरहेको देख्दा दुख लाग्ने ढकालको भनाइ छ ।

पर्यटन बोर्ड अहिले सही नीति र नेतृत्वको अभावले थलिएको छ, विभिन्न बाहनामा बोर्डलाई लथालिङ्ग बनाउने काम भइरहेको छ । विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हाबी हुँदा पर्यटन बोर्ड कमजोर बनेको छ जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड विमुख बन्दै गएको छ ।

नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन नै उल्लेख छ । तर बोर्डले पछिल्लो अन्तर्राष्ट्रिय कार्यक्रम गरेको पनि १० महिना हुन लागेको छ । सन् २०२३ को जुनमा जापानको होकाइदोमा नेपाल प्रवर्द्धन कार्यक्रमपछि कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएको छैन ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र यति बेला पुरानै लयमा फर्कनका लागि बाटो खोज्दैछ । देशमा विदेशी पर्यटक बढ्न थालेका छन् र पर्यटकीय गतिविधि पनि बढ्दै गरेको देखिएको छ ।

पछिल्लो तीन महिनामा तीन लाख चार हजार जना पर्यटक नेपाल आएका छन् । तर यति नै बेला अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मूल दायित्व बोकेको राष्ट्रिय संस्था पर्यटन बोर्ड भने निष्क्रिय जस्तै छ । अहिले पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ । साथै बोर्डमा तीन जना सदस्यको नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web