
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले “विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्ताव प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री भण्डारीले विधेयकमाथि कारोबारको विश्वसनीयता वृद्धि गर्ने, व्यवसायको वर्गीकरण गर्ने, साना व्यवसायीलाई प्रोत्साहित गर्ने विषयमा संसदहरुबाट आएका सुझाव महत्वपूर्ण रहेको बताउनुभयो ।
विधेयकमाथिको छलफलमा सांसदहरुले दीर्घकालीन रुपमा पार्ने प्रभावलाई हेरेर कानुन निर्माण गर्नुपर्ने, विज्ञान प्रविधिको विकास, युवा पुस्ताको चाहना अनुसार अगाडी बढ्नुपर्ने, सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने तथा उपभोक्ताको हितमा ध्यान दिँदै विद्युतीय व्यापारलाई विश्वसनीय बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अनुगमन तथा मुल्याङकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु भएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
यसैगरी बैठकले सभामुख घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसद पदम गिरीको स्थानमा सांसद सुनिता बरालको नाम हेरफेरका लागि गरेको प्रस्तावलाई सभाले सहमति जनाएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।
21.12¡ÆC