अहिलेको संबिधान उत्कृष्ट विशेषताले भरिपूर्ण : पूर्वराष्ट्रपति यादव

चैत्र १७, २०८० मा प्रकाशित | 332 views

चौघडा । पूर्वराष्ट्रपति डा.रामबरण यादवले संबिधानको सही कार्यान्वयन गरेर देशको उज्वल भविष्य निर्माणमा लाग्न राजनीतिक दलका नेताहरुलाई सुझाब दिनुभएको छ ।

नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई आज सम्बोधन गर्दै अहिलेको संबिधान उत्कृष्ट विशेषताले भरिपूर्ण भएको संबिधान भएकाले यसको सही कार्यान्वयन भए मुलुक समृद्धितर्फ लम्कने पूर्वराष्ट्रपति यादवले विश्वास व्यक्त गर्नुभयो ।

“विभिन्न राजनीतिक कालखण्डको सामाना पश्चात अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक सिद्धान्तका विषयलाई संबिधानमा नै प्रष्टसंग उल्लेख गरिएको छ ।” उहाँले भन्नुभयो “जनताको आर्शिवाद लिएर दलका प्रतिनिधिले समय अनुकुल सही व्यवस्थापन गर्दै मुलुकलाई समृद्धि बनाउनुपर्ने जिम्मेवारी आएको छ ।”

उहाँले मुलुकको विकासको लागी शिक्षा र कृषिमा सुधारको परिवर्तन आवश्यक रहेको औल्याउनुभयो । नुवाकोटको भूमि तराईको फाँट सरह रहेको भन्दै यहाँको भूमिमा कृषि खेती गरेर यही रमाउने लक्ष्य लिन विद्यार्थी र युवा वर्गलाई पूर्वराष्ट्रपति यादवले अनुरोध गर्नुभयो ।

“म किसान परिवारमा हुर्किएर देशको राष्ट्रप्रमुख भएपनि हरियाली फाँट देख्दा आनन्दित भएको छु । अहिलेका विद्यार्थीलाई भविष्यमा यहीँको भूमिमा कृषि कर्ममा देख्न पाएमा अझै आनन्दित हुनेछु ।” उहाँले भन्नुभयो ।

शिक्षा र सिप भए स्वदेशमा प्रशस्त सम्भावना : नेका प्रवक्ता डा.महत

सोही कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताउनुभयो । उहाँले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याई नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रुपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

“शिक्षाको लागी राज्यले सुविधासम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर बृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ ।” पूर्व अर्थमन्त्री महतले भन्नुभयो “सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।”

देशमा राजनीतिक अस्थिरता भएपनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसंग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धर्यता, इमान्दारिता र सहनशिलता कायम राख्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web