नुवाकोटमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी, विदुर नपाले डिपिआर बनाउदै

चैत्र १७, २०८० मा प्रकाशित | 370 views


विदुर । नुवाकोटमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको लागी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ ।

विदुर नगरपालिकाको योजना अनुरुप क्रिकेट मैदान निर्माणको लागी बनाइरहेको डिपिआर र निर्माण स्थलको क्रिकेट संघको केन्द्रीय पदाधिकारी एंव प्रतिनिधि टोलीले स्थलगत अवलोकन गर्दै निर्माणको लागी जग्गा उपयुक्त हुने प्रतिक्रिया दिएका छन् ।

विदुर नगरपालिकाको प्रस्तावमा विदुर नगरपालिका–५ स्थित च्वाडीपब्लिक माविको करीब ९० रोपनी जग्गामा क्रिकेट मैदान निर्माणको लागी अहिले डिपिआरको काम विदुर नगरपालिकाले अन्तिम चरणमा पुर्याएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको डिपिआर सम्बन्धि जानकारी लिन र निर्माण स्थलको अबलोकन गर्न नेपाल क्रिकेट संघको पूर्व प्रमुख प्रशिक्षक एंव अहिलेका यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत टमाटा, नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसंग भेट गर्दै आवश्यक प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

विदुरका नगरप्रमुख श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, नुवाकोट जिल्लाबाट क्रिकेट संघको बागमती प्रदेसमा निर्वाचित पदाधिकारी एंव सदस्यहरु, नुवाकोट जिल्ला क्रिकेट संघको पदाधिकारी सहितको कार्यसमितिको टोलीसंग केन्द्रीय प्रतिनिधि टोलीले निर्माणस्थलको स्थलगत अवलोकन पश्चात मैदान निर्माणको लागी च्वाडीपब्लिक माविको करीब ९० रोपनी जग्गा उपयुक्त रहेको बताएका छन् ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले क्रिकेट मैदान निर्माणको लागी नगरपालिकाको तर्फबाट बनाइरहेको डिपिआर सम्बन्धि प्राविधिक टोलीले गरिरहेको कामको जानकारी र निर्माण स्थल र त्यसको प्रप्ती सम्बन्धि जानकारी केन्द्रीय प्रतिनिधि टोलीलाई गराउनु भएको थियो । सो क्रममा डिपिआर निर्माण चाडै सम्पन्न हुनेपनि उहाँले अवगत गराउनुभयो ।

नगरपालिकाको तर्फबाट क्रिकेट मैदान निर्माणको लागी देखाएको सक्रियता र जग्गाको समेत खोजी गर्न भइसकेकाले उक्त कार्यत निकै सराहनीय रहेको भन्दै क्रिकेट संघको पूर्व प्रमुख प्रशिक्षक जगत टमाटा सहितको केन्द्रीय प्रतिनिधि टोलीहरु उत्साहित बनेको छ ।

मैदान बनाउन अहिले प्रस्ताव गरिएको स्थान उपयुक्त रहेको भन्दै डिपिआर निर्माण पश्चात थप योजना बनाउन बाटो खुल्ने नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले जानकारी दिनुभयो ।

काठमाडौबाट नजिकको स्थान, विदुर नगरपालिकाको सहयोग र क्रिकेट संघको केन्द्र र प्रदेसमा रहेको नुवाकोटका प्रतिनिधिको जिम्मेवारी र जिल्ला संघको सक्रियताले नुवाकोटमा अन्तराष्ट्रियस्तरको मैदान निर्माणको प्रयासमा क्रिकेट संघको केन्द्रीय टोली सकारात्मक रुपमा लागेको हो ।

नेपाल क्रिकेट संघको केन्द्रीय सदस्य एंव नुवाकोट अध्यक्ष दुर्गाराज पाठकले क्रिकेट मैदानको अभावमा जिल्लामा क्रिकेटका गतिबिधिहरु सोचेअनुरुप गर्न नसकेको भन्दै एकमात्र लक्ष्य नै जिल्लामा मैदान निर्माण गर्ने र त्यसमा स्थानीय सरकारको सहयोगले सम्भव रहेको बताउनुभयो ।

जिल्लामा क्रिकेट मैदान निर्माण पश्चात जिल्लस्तरमा विभिन्न विधाका प्रतियोगिता सञ्चालन सहित प्रदेश र केन्द्रीयस्तरका प्रतियोगिता समेत नियमित रुपमा सञ्चालन गर्न सकिने केन्द्रीय सदस्य पाठकको भनाई छ ।

क्रिकेट मैदान निर्माणले जिल्लामा खेल क्षेत्रको विकास सहित प्रीतयोगिताको अवलोकनको लागी आउने खेलप्रेमी र पर्यटन मार्फत आर्थिक गतिविधि बढाउन समेत महत्वपूर्ण योगदान पुग्ने भएकाले विदुर नगरपालिकाले सक्रियता देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web