चिलिमे–त्रिशूली प्रसारण लाइन र त्रिशूली हब स्टेशनको काम तीव्र

चैत्र ११, २०८० मा प्रकाशित | 184 views


त्रिशूली । जर्मनी तथा यूरोपेली यूनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा यूरोपेली युनियन, जर्मन विकास बैङ्क (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । साथै, चिलिमे हबबाट त्रिशली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण गरिएको हो ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । यूरोपेली यूनियनले स्थापना गरेको यूरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुसीको कुरा भएको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आउँदो वैशाखको दोस्रो हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेको टोलीलाई जानकारी गराउनुभएको थियो ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अबरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web