मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहण हुँदै

फाल्गुन २३, २०८० मा प्रकाशित | 200 views

मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताउनुभयो ।

सम्भवतः आजै अपराह्न ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्रबाट) उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री हुनुभएका तामाङको शपथ भइसकेको छ ।

सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहनुभएको छ ।

नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, बलराम अधिकारी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिनुभयो । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उहाँको भनाइ छ ।

महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा यो समाचार तयार गर्दासम्म औपचारिक पत्र भने पुगिनसकेको जानकारी प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web