
श्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गत १८ भदौमा गरेको शिक्षक सरुवा कानुनत सदर भएको छ।
गाउँ शिक्षा समितिको ०८०/०४/२६ को निर्णय र गाउँ कार्यपालिकाको श्रावण ३० को निर्णय अनुसार भनी गरिएको काज सरुवा बिरुद्ध उच्च अदालत पाटनमा परेको रिटमा न्यायाधीश ऋषिराम दवाडी र न्यायाधीश कैलास सुवेदीको ३ नं इजलासले गाउँ सरकारले गरेको निर्णय कानुनसम्मत भएको भन्दै रिट खारेज भएको हो ।

रिट खारेज भएसँगै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले गाउँपालिकाले निर्णय गरे अनुसार कार्यान्वयनमा ढिलाई नगर्न शिक्षकहरुलाई निर्देशन पनि दिनु भएको छ।
शिक्षाको गुणस्तर सुधार अभियान अन्तर्गत लामो अध्ययन र स्थलगत अनुगमनपछि सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित गाउँपालिकाले भदौ १८ गते पहिलो चरणमा ८६ जना शिक्षकको काज सरुवा गरेको थियो । सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संगठनले उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
पहिलो सुनुवाइमा सरुवाविरुद्ध अन्तरिम आदेश दिएको अदालतले दोस्रो सुनुवाइमा गाउँपालिकाका तर्फबाट दलिल पेस भएलगत्तै अन्तरिम आदेश खारेज गरिदिएको थियो । सरुवा कार्यान्वयनको बाटो त्यतिखेरै खुलिसकेको भए पनि आम सहमतिलाई मध्यनजर गर्दै गाउँपालिकाले अन्तिम फैसला नआएसम्म कार्यान्वयनमा लचिलो हुने नीति अख्तियार गरेको थियो ।
आजको अन्तिम फैसलाले भने सबै सवालको अन्त्य गरिदिएको र अबको केही दिनभित्रै सबै प्रक्रिया सम्पन्न हुने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
19.19¡ÆC