पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधि थप

अशोज ६, २०८० मा प्रकाशित | 566 views

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।

खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ । यसअघि हिजोसम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावकारी हुन सकेको छैन ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो । यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ । सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी खोप अभियान शुरु गरेको हो ।

कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web