स्थानीय अस्पतालमै पाउन थाले उपचार

भदौ २७, २०८० मा प्रकाशित | 352 views

रसुवा, २७ भदौ । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

विगतमा स्रोत साधनको अभाव दर्शाउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ । हाल यहाँ ओपिडीसमेतका संरचना तयार भएका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या भएका बिरामीलाई मात्र उपचारका लागि काठमाडौँ पठाउने गरिएको छ । अधिकांश बिरामीलाई स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ ।

विगतमा अस्पतालमा दक्ष जनशक्तिको अभाव थियो । सघन उपचारकक्षको व्यवस्थापन हुन सकेको थिएन । जिल्ला अस्पतालमा बिस्तारै सुधार हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की मात्र दिएर पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गर्दैआएको छ ।

उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् । यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा शाहले बताउनुभयो ।

उपचार गर्न आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता समस्या बढी रहेको पाइएको छ । जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या भने ६१ जना मात्र रहेको छ । यसबारे जनचेतना जगाउने काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web