दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिए

साउन ८, २०८० मा प्रकाशित | 337 views

काठमाडौँ । पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ ।

सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल लगायतका सुनसरीका स्वास्थ्य संस्थामा डेङ्गीका बिरामीको चाप छ । महाशाखाका अनुसार सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाण्डाैमा ४६ जना, कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गी फैलिँदै गएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ । डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ । स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web