२२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि

जेष्ठ २७, २०८० मा प्रकाशित | 279 views

काठमाडौँ । गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम हिजो फेरि ‘ब्रेक’ भएको छ ।

जल तथा मौसम विज्ञान विभागले हिजो अबेर सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । बुधबार दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ ।

तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । बाँके, चितवन, पर्सा, वारा, सर्लाही लगायतका जिल्लाहरुमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । देशका तराई, भित्री मधेश, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भू–भागका धेरै ठाउँहरुमा केही दिनदेखि नै अधिकतम तापक्रम बढेर तातो हावा चलेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।

तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविदले बताएका छन् । गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने परम्परागत विधिलाई निरन्तरता दिन विज्ञहरुले आग्रह गरेका छन् । तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन डाक्टरहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web