
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विभिन्न १९ वटा सामुदायिक विद्यालयको तह समायोजन अर्थात कक्षा घटुवा गरेको छ ।
शैक्षिक सत्र २०७८ र २०७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर अत्यन्त न्यून भएपछि कार्यपालिका बैठक मार्फत सुरु भएको चालु शैक्षिकसत्रमा कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार नगरपालिकापालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म) स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई एकीन गरेर न्यून विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो ।
विद्यालयले विद्यार्थी सङ्ख्या धेरै देखाएपनि विभिन्न श्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइएपछि स्थलगत अनुगमन गरिएको थियो ।
विद्यार्थी कम भएका विद्यालयको अनुगमनमा पुगेको कार्यदलका पदाधिकारीलाई चाडपर्व, अभिभावकहरु घरायसी काममा व्यस्त भएको लगायतका बाहना बनाएपनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी विद्याथी सङ्ख्या अनुसार न्यून विद्यार्थी पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
कक्षा घटुवामा पर्नेमा आधारभूत सहित माध्यामिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश विद्यालयले अब बालकक्षादेखि कक्षा १ सम्म मात्रै पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ ।
कक्षा घटुवामा पर्नेमा बेलकोटगढी नगरपालिका वडा नं. १२ मा रहेको चण्डादेवी मावि सबैभन्दा बढी प्रभावित भएको छ । उक्त विद्यालयमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एकसय १६ जना विद्यार्थी देखाएपनि नियमित उपस्थित र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले १० कक्षासम्म पढाउदै आएको विद्यालयलाई यो शैक्षिकसत्रमा बालविकासदेखि कक्षा ३ सम्म मात्रै अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ ।
चण्डादेवी मावि सहित कक्षा घटुवा पर्नेमा वडा नं. २ को चितमारे आवि, श्रमिक आवि, वडा नं. ३ को गणेश आवि, कृष्ण आवि, वडा नं. ४ को लेकसाइड आवि, बनदेवी आवि, वडा नं. ५ को इन्द्रेश्वर आवि, वडा नं. ६ को उत्पन्नेश्वर आधारभूत विद्यालय रहेको छ ।
यस्तै, वडा नं. ७ को सरस्वती आवि, जनसामुदायिक आवि, वडा नं. ८ को जनसहयोग आवि, बागेश्वरी आवि, जनसेवा आवि, वडा नं.९ को जनसहभागिता आवि, करुणकर आवि, वडा नं. १० को सरस्वती आधारभूत विद्यालयले पेश गरेको तथ्याङ्क भन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु¥याउन सकेमा उक्त निर्णय संशोधन तथा पुर्नविचार गरिने भएकाले विद्यार्थी सङ्ख्या बढाउनतर्फ केन्द्रित हुन सम्बन्धित विद्यालयहरुलाई सचेत गराउनुभएको छ ।
अहिले कक्षा घटुवामा परेका विद्यालयले विद्यार्थी बढाएमा साविकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न विद्यालयको व्यवस्थापन समिति र शिक्षकहरु सक्रिय भएर लाग्न थालेको पाइएको छ ।
गुणस्तरीय शिक्षाको लागी बालबालिकालाई अन्यत्र पढाउन लैजानुपर्ने अभिभावकको बाध्यता हटाउन सामुदायिक विद्यालयले चासो दिन थालेको पाइएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभएको छ । अहिले कक्षा घटुवामा परेका विद्यालयले विद्यार्थी सङ्ख्या बढाएमा ती विद्यालयमा साविकको कक्षा निरन्तर सञ्चालन गर्न सक्ने भनेर आवश्यक संवाद् तथा छलफल सहित केही निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभएको छ ।
बेलकोटगढी नगरपालिका भित्र अहिले १९ माध्यमिक सहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालित छन् । बेलकोटगढी नगरपालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर बृद्धि सहित विद्यार्थीहरुलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सिप तथा क्षमता सहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्वनलाई प्राथमिकता दिदै आएको बताएका छन् ।
25.91¡ÆC