
त्रिशूली । ‘गल्छी–रसुवागढी’ सडक योजना अन्तरगत विस्तार भइरहेको सडकको मुख्य अबरोधको रुपमा रहेको नुवाकोटको विदुर स्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ ।
मुआब्जा मागगर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु नपर्ने’ भनेर आदालतको फैसलाको पूर्ण पाठ आएसगैँ लामो समयदेखि सडक विस्तारमा भइरहेको अबरोध अब हट्ने देखिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ अन्तराष्ट्रिय राजमार्गको विदुर नगरपालिका वडा नं. ५ पिपलटारदेखि वडा नं. १ ढुङ्गेसम्मको करीब आठ किलोमिटर सडकको विस्तारमा ‘जग्गाको मुआब्जा दिनु नपर्ने तर, घर–टहराको क्षतिपूर्ति दिनु’ भनेर फैसलाको पूर्णपाठ आएको योजना प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार १९८ जना जग्गाधनीहरुको तर्फबाट विभिन्न तीन समूहले मुआब्जा माग्दै दायर गरेको रिट माथी २०७९ पुस २८ मा सर्वोच्वको पूर्ण इजलासले गरेको फैसलाको अहिले प्राप्त पूर्णपाठले चार वर्षदेखिको अबरोध हटेर सडक विस्तार गर्न बाटो खुला भएको हो । अब घरघटराको क्षतिपूर्ति उपलब्ध गराउने सहितको सडक निर्माणको काम अघि बढाउन लागिएको योजना प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
अदालतको फैसलाको पूर्णपाठ अनुसार जग्गाधनीले मुआब्जा माग गरेको विदुर– नरपालिकाको वडा नं. ५ पिपलटारदेखि वडा नं. १ ढुङ्गेसम्मको सडक २०२१ फागुन ११ मा पासाङल्यामु राजमार्ग कायम भएको र २०३४ असार २० मा प्रकाशित सूचना अनुसार ‘सहायक राजमार्ग’ कायम भएको उल्लेख गरिएको छ ।
‘गल्छी–रसुवागढी’ सडकको दायाँबायाँ १५–१५ मिटर पहुँच क्षेत्रको त्यही समयमा मुआब्जाको लागी सूचना आह्वान गरेकाले अहिले अन्तराष्ट्रिय राजमार्ग विस्तारको क्रममा मुआब्जा दिनु नपर्ने अदालतको फैसलामा भनिएको छ । तर, नेपाल सरकारले ‘गल्छी–रसुवागढी’ सडक विस्तारको लागी सूचना जारी (२०७२ फागुन ३) गर्नुअघि बनेका सबै किसिमका घरटहरा हटाउदा त्यसको भने क्षतिपूर्ति उपलब्ध गराउन प्रभावित जग्गाधनीको माग अनुसार योजनाको कार्यालयलाई अदालतले दिएको उत्प्रेषण परमादेशको पूर्णपाठमा उल्लेख छ ।
धादिङको गल्छीबाट सुरु भएर नुवाकोटको त्रिशूली, रसुवाको वेत्रावती, मैलुङ, स्याफ्रुबेसीँ हुदै चीनसंगको सीमा रसुवागढीसम्मको ८२ किलोमिटर सडक अन्तराष्ट्रिय राजमार्गको रुपमा २०७२ साल मंसिर १७ को मन्त्रिपरिषद् बैठकको निर्णयले विस्तार थालिएको हो ।
काम सुरु भएको २५ महिना भित्र सम्पन्न गर्ने जिम्मेवारी अनुसार गल्छी–मैलुङसम्मको ४६ किलोमिटर सडकको ठेक्का २०७३ मंसिरमा दिएपनि विविध समस्याले काम पूरा हुन अझै थप केही वर्ष लाग्ने देखिएको छ ।
गल्छी–मैलुङसम्मको सडक विस्तारको लागी मुख्य अबरोध रहेको विदुरको बजार क्षेत्रमा काम गर्न अब बाटो खुला भएसगैँ नयाँ लक्ष्य लिएर सडक विस्तारलाई तिव्र बनाइने योजना कार्यालयका योजना प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार ‘गल्छी–रसुवागढी’ सडक अन्तरगत अहिलेसम्म अन्य स्थानमा ‘डेडिकेटेड’ दुई लेनको सडक निर्माण तथा विस्तार भइरहेकोमा अब नुवाकोटको बट्टार बजार स्थित राममन्दिरदेखि गंगटेसम्मको पाच किलोमिटर सडक चारलेनको अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्न लागिएको छ ।
धादिङको गल्छीबाट सुरु भएर चीनसम्मको सीमा रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको विस्तार नेपाली पक्षबाट निर्माण व्यवसायी र चीन सरकार मार्फत तीन खण्डमा अघि बढाइएकोमा हालसम्म समग्र काम करीब आधाको हाराहारीमा मात्रै सम्पन्न भएको छ ।