एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदर्ता आमाकै थरबाट हुने

चैत्र २७, २०७९ मा प्रकाशित
Published at 2023-04-10

400 views

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र गरेको छ ।

गएको २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न हरेक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड (क) बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गरी नयाँ परिपत्र जारी गरिएको हो ।

आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखेर जन्मदर्ता गरिदिने उल्लेख छ ।

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भएर बच्चा जन्मँदा कायम भएको आमाको थर राखेर अहिलेको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए त्यही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

विभागले बच्चाको जन्मदर्ता भइसकेपछि पितृत्व/बाबुको ठेगान पत्ता लागेको अवस्थामा बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखेर नयाँ जन्मदर्ता गर्न भनेको छ । परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखेर जन्मदर्ता गर्नुपर्ने उल्लेख छ ।

बाबु, आमाको कानुनबमोजिम सम्बन्धविच्छेद भइ आमासँग रहने छोराछोरीको जन्मदर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको यकिन गरी आमाको अहिलेको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने तथा कानुनबमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्म भएको बच्चाको जन्मदर्ता गर्दा कारागार कार्यालय प्रमुखबाट सूचना फाराम प्रमाणित भइ आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिने भनिएको छ ।

बालविवाह वा बहुविवाह पछि जन्म भएको बच्चाको कानुन बमोजिमको प्रक्रिया पुर्याइ जन्मदर्ता गरिदिन पनि भनिएको छ । माथि उल्लिखितबाहेक अन्य प्रकृतिका जन्मदर्ताको सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित) २०७७ र विभागबाट यसअघि जारी भएका परिपत्रानुसार गर्न गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.