त्रिशूली । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को दबाबले विद्यार्थी सहुलितको रुपमा पाउने ४५ प्रतिशत भाडा छुटको व्यवस्था कार्यान्वयन हुने भएको छ ।
यसअघि गएको चैत १५ गते स्ववियु पदाधिकारीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउदै विद्यार्थी अधिकारको रुपमा राज्यसंग भएको सम्झौता अनुसार ४५ प्रतिशत छुट सुविधा पाउनुपर्ने माग गरे अनुसार हिजो आइतबार बसेको सरोकारवालाहरुको बैठकले छुट सुविधा दिनको लागी सहमति जनाएको हो ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटमा बसेको जिल्लामा सञ्चालित यातायात व्यावसायीको प्रतिनिधि, स्वावियु पदाधिकारीको बैठकमा ४५ प्रतिशत छुट सुविधा दिनको लागी व्यावसायीले सहमति जनाएको स्ववियु बट्टार क्याम्पसका सचिव राजेन्द्र पनेरुले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार यातायात व्यावसायीको तर्फबाट नुवाकोटमा सञ्चालनमा रहेका नमस्ते पासाङ ल्यामु यातायात प्राली, टिमुरे यातायात प्राली, नेपाल माइक्रोबस कम्पनी यातायात प्राली र छाङ्गेश्वरी यातायात प्रालीका प्रतिनिधिको उपस्थिती रहेको थियो भने स्ववियु बट्टार क्याम्पसको तर्फबाट अध्यक्ष रबिन दाहाल सहितको पदाधिकारी सहित जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंह लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सममतिको अंक्षरश पालना गर्न सहमति जनाउदै कही कतै यातयात व्यावसायी तथा यातायात क्षेत्रका कर्मचारीबाट तोकिए अनुसारको सुविधा नदिएमा कारबाही गरिने समेत सम्झौतामा भनिएको छ ।
विद्यार्थी सहुलियत कालोपत्रे गरिएको सडकमा मात्र नभई ग्रामीण क्षेत्रमा सञ्चालन हुने कच्ची सडकमा समेत कार्यान्वयन हुने मौखिक समझदारी भएकाले कही कतै विद्यार्थीले सहुलियत नपाएमा त्यसको जानकारी नजिकैको प्रहरी युनिट तथा जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयमा दिनको लागी भनिएको छ ।

ताजा समाचारहरू