आज एकै दिन ६९ जनामा कोरोना सङ्क्रमण

चैत्र १३, २०७९ मा प्रकाशित | 400 views

काठमाडौँ । नेपालमा आज साेमवार एकै दिन ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या पनि बढेकाे पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताउनुभयो ।

‘भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ सङ्क्रमण बढेको हो’, उहाँले भन्नुभयो, ‘हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।’

उहाँका अनुसार अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल–भारतको कैलालीको धनगढीमा रहेकाे त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । उहाँले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गर्नुभयो ।

भारतको उत्तर प्रदेशमा सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले काठमाण्डाे उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web