बागमतीमा पनि राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

फाल्गुन १४, २०७९ मा प्रकाशित | 349 views

हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।

शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस (तपाईंको) नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।’

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।

शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web