सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष

फाल्गुन ५, २०७९ मा प्रकाशित | 708 views

काठमाडौँ । सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड समेत कायम गरेको एक अध्ययनले देखाएको छ ।

सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, अमेरिका र इटलीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो ।

अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धानदाता चेङ लिजिङका अनुसार विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक हो ।

समुद्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम वृद्धिको थप प्रमाण भएको वैज्ञानिकको भनाइ छ । तापमानको अलावा, अध्ययनले समुद्रको पानीको लवणताको पनि गणना गरेको थियो । अध्ययनले उच्च नुनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको देखाएको छ ।

यद्यपि कम नुनिलो भएको क्षेत्रमा नतिजा ठिक विपरीत छ । अध्ययन अनुसार महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँछ र शक्तिशाली आँधी र तुफानको रूपमा अधिक उग्र मौसमलाई निम्त्याउने जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web