ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुरको ११ लाख र बेलकोटगढीको ५ लाख सहयोग

पुस २३, २०७९ मा प्रकाशित | 752 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान सञ्चालनको लागि यहाँको दुईवटा नगरपालिकाले रु १६ लाख सहयोग गरेका छन् ।

जिल्लाको बेलकोटगढी नगरपालिकाले शुक्रबार रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । विदुर नगरपालिकाले बजेट विनियोजन गरिएकाले हस्तान्तरणको प्रक्रियामा रहेको जनाएको छ ।

बेलकोटगढी नगरपालिका नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकको दैनिक जीवनयापनसहित उहाँहरुको हेरचाह, स्याहारसुसार तथा स्वास्थ्योपचारका लागि रु पाचलाख हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

बेलकोटगढीको तर्फबाट प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई चेक हस्तान्तरण गरेसगैँ उपप्रमुख शिव दाहालले आफूले उपप्रमुखको रुपमा पाउने पारिश्रमिक तथा भत्ता अन्तरगत एक महिनाको सुविधाबापतको प्राप्त रकमसमेत प्रतिष्ठानको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

पाँच वर्षअघिदेखि सामाजिक संस्थाको रुपमा सञ्चालित उक्त प्रतिष्ठानमा नुवाकोटसहित देशभरका ३५ जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरुको हेरचाहमा सहयोगको लागी यहाँको विदुर नगरपालिकाले रु ११ लाख सहयोग उपलब्ध गराउन लागेको हो ।

जिल्लाको दुवै नगरपालिकाले संयुक्तरुपमा सहयोग गर्ने तयारी गरेर बजेटको स्रोत सुनिश्चित भए पनि आवश्यक कागजात अपुग भएका कारण विदुरले सहयोग रकम आगामी साता उपलब्ध गराउने विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

ज्येष्ठ नागरिक संरक्षणप्रति चासो दिएका यहाँका दुवै नगरपालिकाले संयुक्तरुपमा प्रतिष्ठानको लागि सहयोगसहित आ–आफ्नो पालिकामा वडास्तरीय ज्येष्ठ नागरिक दिवा आश्रयस्थल बनाउने लक्ष्य लिएका छन् ।

उक्त दिवा आश्रयस्थलमा धार्मिक गतिविधि सञ्चालन गर्न वाद्यवादन, धार्मिक ग्रन्ध सहित टेलिभिजन, इन्टरनेट, खाजाको प्रबन्ध मिलाइने विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमलाई लक्षित गर्दै घरघरमा चिकित्सकसहितको टोलीबाट ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा अहिले पनि दुवै नगरपालिकाले सञ्चालन गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web