स्वास्थ्य बीमामा नुवाकोटका करीब २० हजार परिवारका ३१ हजार भन्दाबढी आबद्ध

पुस १९, २०७९ मा प्रकाशित | 513 views

त्रिशूली । नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकार मार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करीब २० हजार घरपरिवार आबद्ध भएका छन् ।

२०७७ असार २१ गतेदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म नुवाकोटका १९ हजार सातसय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोेर्ड, शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गिता शर्माले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटका ३१ हजार २६६ जनाले स्वास्थ्य बीमा गरेर बार्षिक एक लाखसम्म रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवाको लाभ लिदै आइरहेका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गर्न सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा प्रभावकारी भएसगैँ यसमा आबद्ध हुनेको सङ्ख्या क्रमशः बृद्धि हुदै गइरहेको हो । एक पटक बीमा प्रणालीमा सूचीकृत भएकाहरुले स्वास्थ्य उपचारमा पाएको छुट सुविधाले अधिकांश सेवाग्राहीले नविकरण गरेर नियमित रुपमा सेवाको लाभ लिनतर्फ आकर्षित हुदै आइरहेका छन् ।

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नको लागी नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको अन्तरगत सञ्चालनमा ल्याएको स्वास्थय बीमा सेवालाई प्रत्येकको घरघरमा पु¥याउनको लागी सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर अहिले सबै वडामा दर्ता सहयोगी मार्फत घरघरमा नै सेवा पुराइरहेको छ । स्वास्थ्य बीमा गरेपछि जिल्लामा तोकिएको अस्पताल तथा ती अस्पतालको सिफारिसमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको अस्पतालबाट बार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवाको लाभ लिन पाइने भएकाले आर्थिक रुपमा विपन्न तथा गरीब परिवारको लागी बीमा कार्यक्रमले लामो समयदेखि गुणस्तरीय उपचारको अभावमा रहेका नागरिकहरुलाई उपचारको पहुँचमा ल्याउन धेरै सहयोग मिलेको बोर्डको शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गिता शर्माको अनुभव रहेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमको लागी नुवाकोटमा त्रिशूली अस्पताल सहित खरानीटार अस्पताल, ककनी र देउराली प्राथमिक स्वास्थ्य केन्द्र गरेर चारवटा स्वास्थ्य सँस्थामा सेवा उपलब्ध गराइएको छ । जिल्लाका तोकिएको स्वास्थ्य सँस्थामा उपचार सम्भव नभएमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका देशका अधिकांश सरकारी अस्पतालहरुमा समेत उपचार गराउन पाइने भएकाले ससाना देखि ठूलो प्रकृतिका बिरामीको लागी समेत स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको हो ।

एक वर्षको लागी एक लाख रुपैयाँसम्मको उपचार सुविधा लिन स्वास्थ्य बीमा बोर्डले प्रत्येक वडामा नै दर्ता सहयोगीहरु बीमा गराउन परिचालन गरेकाले आबद्ध हुन सहज रहेको छ भने पाच जनासम्मको परिवारलाई तीन हजार पाचसय रुपैयाँ मात्रै लाग्ने भएकाले पनि नुवाकोटमा कार्यक्रम सुरु भएको साढेदुई वर्षको अवधिमा करीब २० हजार परिवार स्वास्थ्य बीमा कार्यक्रम आबद्ध भएर सेवाको लाभ लिदै आइरहेका छन् । पाच जनासम्मको परिवारको लागी तीन हजार पाचसय रुपैयाँ लाग्ने छ भने एकै परिवारमा त्यो भन्दाबढी सङ्ख्या भएमा एक व्यक्तिको लागी थप सात सय रुपैयाँको दरले शुल्क लाग्ने र औषधिउपचारको लागी समेत एकलाख रुपैयाँको दायरा बृद्धि हुदै जाने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने उद्देष्यले सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिन ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ भने महिला स्वास्थ्य स्वंयम सेविकाहरुको हकमा आधा रकम छुट सुविधा रहेको स्वास्थ्य बीमा बोेर्डको शाखा कार्यालय नुवाोटका दर्ता अधिकारी गिता शर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार निःशुल्क कार्यक्रम अन्तरगत जिल्लाभरको अधिंकाश ज्येष्ठ नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रमा समावेश भइसकेका छन् भने महिला स्वास्थ्य स्वंयम सेविकाहरुको लागी सरकारले उपलब्ध गराएको छुट सुविधालको समेत धेरैले नाम दर्ता गराएर सेवा लिदै आएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिकालेसबै स्वास्थ्य स्वंयम सेविकाहरुको बीमा कार्यक्रम पालिकाबाट नै गर्नको लागी आवश्यक तयारीलाई अन्तिम चरणमा पुराएको छ । नुवाकोटमा अहिलेसम्म करीब २० हजार घरधुरी यस कार्यक्रममा आबद्ध भएकोमा सबैभन्दा बढी विदुर नगरपालिका पाच हजार १४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आबद्ध भएको पाइएको छ ।

त्यसैगरी, दुप्चेश्वरमा २५९ घरपरिवार, ककनीमा ६१७, किस्पाङमा ६३२, लिखुमा ४७७ घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । म्यागङमा ६५७ घरपरिवार, पञ्चकन्यामा ३४१, शिवपुरीमा ८६६, सूर्यगढीमा ३३९, तादीमा एक हजार ७५ र तारकेश्वरमा पाचसय घरपरिवार आबद्ध भएका छन् ।

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार नुवाकोटको कुल घरधुरी ७० हजार ९४६ रहेकोमा अहिलेसम्म करीब २० हजार घरपरिवार आबद्ध भएका छन् भने नुवाकोटको जनसङ्ख्या दुई लाख ६२ हजार ९८१ रहेकोमा ३१ हजार २६६ जना स्वास्थ्य बीमा कार्यक्रम पहुँचमा जोडिएका छन् । अझै धेरै घरपरिवार तथा जनसङ्ख्यालाई स्वास्थ्य बीमा कार्यक्रमा सहभागी गराउन नसक्नुलाई भने यसबाट पाइने लाभ, निःशल्क पाइने एक हजार एकसय ३३ प्रकारको औषधी सहितको स्वास्थ्य उपचार सुविधाको फाइदा बुझाउन स्वास्थ्य बीमा बोर्ड, तीनै तहमा रहेका सरकार सहित सरोकार राख्ने सबै पक्षबीच सहकार्य र समन्वयनको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web