नुवाकोट र रसुवाका उत्कृष्ट ६ किसान सम्मानित

पुस १४, २०७९ मा प्रकाशित | 1864 views

त्रिशूली । नुवाकोट र रसुवाका उत्कृष्ट ६ जना किसानलाई नगद रुपैयाँ सहित सम्मान गरिएको छ ।

दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले सूचना प्रकाशन गरेर तोकिए अनुसारको कृषि क्षेत्रमा संल्लग्न रहेका किसानहरुबाट माग गरेको निवेदन माथी छानबिन गरेर नुवाकोट र रसुवाबाट ३–३ जनाको दरले राष्ट्रपति उत्कृष्ट किसानको रुपमा नगद रुपैयाँ १५ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको हो ।

सम्मानित हुने किसानमा नुवाकोटबाट शिवपुरी गाँउपालिका वडा नं. ८ का रामप्रसाद पुडासैनी, म्यागङ गाँउपालिका वडा नं. ४ का सुरेन्द्र तामाङ र विदुर नगरपािलका वडा नं. १३ का दिपक खड्का रहनुभएको छ ।

यस्तै, रसुवाबाट राष्ट्रपति उत्कृष्ट किसानको रुपमा सम्मानित हुने किसानहरुमा गोसाईकुण्ड गाँउपालिका वडा नं. ५ का काल्साङ तामाङ, वडा नं. ६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाँउपालिका वडा नं. ६ का पासाङ लामा तितुङ रहनुभएको छ ।

 

राष्ट्रपति उत्कृष्ट किसानको लागी कृषि ज्ञान केन्द्र नुवाकोटले आह्वान गरेको निवेदनमा नुवाकोटबाट १३ जनाको निवेदन दर्ता भएको र रसुवाबाट चार जनाको निवेदन दर्ता भएकोमा तोकिएका मापदण्ड पूरा भएका फार्म तथा कृषि क्षेत्रको स्थलगत अवलोकन पश्चात उत्कृष्ट तीन–तीन जना किसानलाई छनोट गरिएको हो ।

उत्कृष्ट भएका किसानलाई सम्मान गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले नुवाकोटमा उत्पादनको रुपमा नुवाकोट धेरै पक्षमा आत्मनिर्भर हुदै गएकाले निकासी, बजारीरकण प्रत्यक्ष लाभ लिन सक्ने गरेर खेती प्रणाली गर्नुपर्ने सुझाब दिनुभएको छ ।

उत्कृष्ट भएका किसानलाई सम्मान गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाहमुखी खेती प्रणालीलाई तोडेर व्यावसायिकरण तथा आधुनिकीरण मार्फत सफल किसानको रुपमा बनाएको पहिचान अन्य किसानको लागी पनि प्रेरणाको श्रोत र उदाहरणीय बन्न सफल भइराख्न सुझाब दिनुभएको छ ।

नुवाकोट र रसुवाबाट उत्कृष्ट ठहर भएका किसानहरुलाई अब प्रदेसस्तीय उत्कृष्ट किसानको लागी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको छ ।

प्रदेसमा उत्कृष्ट भएका किसानलाई पनि केन्द्रमा सिफारिस गर्ने भएकाले नुवाकोट र रसुवाबाट उत्कृष्ट भएका किसानलाई थप सफलताको लागी केन्द्र प्रमुख केशव खनालले शुभकामना दिनुभएको छ । पछिल्लो समयमा नुवाकोटमा व्यवसायिक खेती प्रणालीको विकासले नुवाकोटको अर्थतन्त्रमा समेत सुधार गर्नको लागी किसानहरुको योगदान महत्वपूर्ण रहेको कृषि ज्ञान केन्द्र प्रमुख केशव खनालले बताउनुभएको छ ।

राष्ट्रपति उत्कृष्ट किसान कार्यक्रममा जिसस नुवाकोटका समन्वयन अधिकारी बासुदेव खतिवडा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नुवाकोटका निमित्त प्रमुख शरण भुजेल, बागवानी विकास केन्द्र नुवाकोटका प्रतिनिधि देवकी पाठक, नुवाकोटको विभिन्न स्थानीयतहका कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web